प्रस, वीरगंज, ६ असोज/
मधेस प्रदेश सरकारको महŒवपूर्ण योजना अन्तर्गत रहेको एक निर्वाचन क्षेत्र एक सडक निर्माणको पर्सामा समय सके पनि सडक निर्माण अधूरै रहेको छ ।
पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दीको सरकारले मधेसका आठवटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा एक सडक पाँच किलोमिटर निर्माण गर्ने लक्ष्य अन्तर्गत अगाडि बढे पनि ठेकेदारहरूको लापरवाहीका कारण पर्साका कुनै पनि निर्वाचन क्षेत्रमा अहिलेसम्म कुनै सडक बन्नेको छैन । त्यति मात्र हैन सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको लापरवाहीका कारण अहिलेसम्म काम सम्पन्न नभएको स्थानीयहरूले जानकारी गराएका छन् ।
पूर्वाधार विकास कार्यालयले काम गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गरे पनि उनीहरूले काम गर्न बेवास्ता गरेको आरोप लगाएको छ । साइट पनि क्लियर रहेको तर विभिन्न बहानामा ठेकेदार कम्पनीहरूले काम नगरेपछि प्रत्येक वर्ष रकम फ्रीज भएर जाने गरेको कार्यालय प्रमुख दीपक मिश्रले जानकारी गराए ।
मधेस प्रदेश सरकारले पाँच किलोमिटर सडक बनाउन आर्थिक वर्ष २०७८/७९ मा ठेक्का अह्वान गर्दा पर्साका आठवटा निर्वाचन क्षेत्रका लागि दुईवटा सडक बनाउन रञ्जन निर्माण सेवा मिर्जापुर तथा छवटा सडक बनाउन शिवाको कन्स्ट्रक्शन प्रालि बबरमहल काठमाडौंले स्थानीय प्रतिनिधि पप्पु कन्स्ट्रक्शनलाई जिम्मा दिएका थिए । आठवटै योजनाको काम सम्पन्न मिति २०८० पुस ८ रहेको थियो । म्याद सकिए पनि अहिलेसम्म शिवाको कन्स्ट्रक्शनले म्याद थप गराएको छैन भने कार्यालयले पनि कम्पनीले म्याद थप्न आए म्याद नथप्ने जानकारी गराएको छ ।
रञ्जन निर्माण सेवाले भेडिहारी–हरिहरपुर–गण्डक सडक निर्माणका लागि छ करोड सात लाख र ठोरी–बागमोर्चा–महादेवपट्टि सडक निर्माणका लागि सात करोड ४३ लाखमा जिम्मा पाएकोमा ती दुवै सडकको अहिलेसम्म ८५ र ६५ प्रतिशत काम भएको देखिन्छ । शिवाकोले गुलरिया चोक–वडा कार्यालय पटेर्वासुगौली छ करोड ८५ लाख, रामपुर–गण्डक नहर छ करोड ९६ लाख, बहुअर्वा–पचरुखी छ करोड चार लाख, ड्राइर्पोट–अपौनी–सुगौलीबिर्ता छ करोड ४८ लाख, वीरगंज–लक्ष्मणवा–इनर्वा छ करोड ५३ लाख, धोरे–पोखरिया छ करोड ४२ लाख, परसवा–जनता सडक निर्माणका लागि सात करोड १५ लाख रुपियाँमा ठेक्का सकार गरेको थियो । तर शिवाकोले अहिलेसम्म २० प्रतिशत मात्र काम गरेको पूर्वाधार कार्यालयले जनाएको छ ।