प्रस, वीरगंज, ६ असोज/
वीरगंज महानगरपालिकाको राजस्व भदौ महीनामा बढेको छ भने गत वर्षका दुई महीनाको तुलनामा भने घटेकै छ ।
चालू आवको भदौ महीनामा महानगरपालिकाले चार करोड ७२ लाख दुई हजार राजस्व सङ्कलन गरेको छ भने गत वर्ष यही महीनामा महानगरले चार करोड आठ लाख २० हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्षको तुलनामा चालू आवको भदौमा ६४ लाख बढी राजस्व सङ्कलन गरेको छ । तर समग्रमा गत आवका साउन र भदौमा भन्दा चालू आवका साउन र भदौमा महानगरको राजस्व भने घटेकै छ ।
आव २०८०/८१ को साउन–भदौमा १० करोड ३८ लाख ५१ हजार राजस्व सङ्कलन भएको थियो भने चालू आवको यी दुई महीनामा भने नौ करोड ७२ लाख २८ हजार मात्र राजस्व सङ्कलन भएको राजस्व महाशाखाका प्रमुख मनोज कर्णले बताए । तुलनात्मकरूपमा गत वर्षको तुलना चालू आवका दुई महीनामा ६६ लाख २३ हजार राजस्व कम सङ्कलन भएको छ । राजस्व महाशाखा प्रमुख कर्णले भदौ १ देखि ३१ गतेसम्म सम्पत्तिकरबाट दुई करोड ४९ लाख ७५ हजार, भूमिकर/मालपोतकरबाट ११ लाख ४१ हजार, घरबहाल करबाट ३३ लाख ५३ हजार, सवारीसाधन करबाट ९६ हजार, मनोरञ्जन करबाट ४४ हजार, व्यवसाय रजिस्टे«शन दस्तुरबाट दुई लाख ६० हजार, सरकारी सम्पत्ति बहालबाट १४ लाख २३ हजार, अन्य सेवा शुल्कबाट २८ लाख १५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट तीन लाख ८७ हजार, नक्शापासबाट १९ लाख चार हजार, सिफारिश दस्तुरबाट १७ लाख १३ हजार, व्यक्तिगत घटना दस्तुरबाट दुई लाख २४ हजार, नाता प्रमाणितबाट एक लाख ६४ हजार, धरौटी जफतबाट ४० लाख, प्रशासनिक दण्ड जरिवानाबाट तीन लाख ६१ हजार र बेरुजूबापत दुई लाख ६४ हजार गरी चार करोड ७२ लाख दुई हजार राजस्व सङ्कलन भएको बताए ।
वीरगंज महानगरपालिकाले यस वर्ष वार्षिक ७५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएको छ । गत वर्ष पनि महानगरले असारको नगरसभाबाट ७५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएको थियो तर पुसमा संशोधित बजेट प्रस्तुत गर्दा १५ लाख थप गरी ९० लाख सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । तर गत वर्ष ६१ करोड मात्र राजस्व सङ्कलन भयो ।