प्रस, वीरगंज, ४ असोज/
नेपाल पत्रकार महासङ्घको अधिवेशन अनिश्चित भएको छ । बिहीवार राति सूचना जारी गर्दै कावा अध्यक्ष रमेश विष्टले शुक्रवारदेखि हुने भनिएको उम्मेदवारी दर्ता प्रक्रिया रोकिदिनका लागि निर्वाचन समितिलाई पत्राचार गरेका थिए । सोअनुरूप हिजै राति निर्वाचन समितिले आजदेखि हुने भनिएको उमेदवारी दर्तालगायत निर्वाचनका सबै कार्य अनिश्चितकालका लागि स्थगन गरेको सूचना जारी गरेको थियो । हिजो कावा अध्यक्ष विष्टको अगुवाइमा पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लागेको ताला खोलिएको थियो ।

उनले जिल्ला शाखाको मागलाई सम्बोधन गर्ने आश्वासन दिएपछि भदौ ३० गतेदेखि लगाएको ताला खोलिएको थियो । पछिल्लोपटक महासङ्घले असोज १२ गते निर्वाचन मिति तोकेर भदौ २९ गते सदस्यता नामावली सार्वजनिक गरेपछि देशभरका शाखाहरूले आपत्ति जनाएका थिए ।

देशभरका ५३ शाखाले नयाँ सदस्यता नामावली चौथोपटक प्रकाशित हुँदा झनै भाँडभैलो तरीकाबाट आएको र यसमा जिल्ला शाखाले सिफारिश गरेभन्दा करीब २४ सय बढी सदस्य केन्द्रले थप गरेको भन्दै आपत्ति जनाएका थिए । जिल्ला, प्रदेश र केन्द्रमा समेत आवेदन नपरेकाहरूलाई हचुवाको भरमा पुरानो सदस्य भनेर नवीकरण गरिएको र नयाँ सदस्यता दिएको भन्दै विरोधमा वक्तव्य प्रकाशित गर्नुका साथै सो सुधार भएपछि मात्र निर्वाचन गराउन सुझाइएको थियो ।

बुधवार ५३ जिल्लाका अध्यक्षहरूको विरोधपूर्ण हस्ताक्षर भएको ध्यानाकर्षणपत्र कावा अध्यक्ष विष्टलाई बुझाएको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले बताए । कावा अध्यक्ष विष्टले जिल्लाको माग सम्बोधन हुने आश्वासन दिएको तर शुक्रवार उनले पनि राजीनामा दिएपछि महासङ्घको निर्वाचन अनिश्चित भएको छ ।

कावा अध्यक्ष विष्टले जिल्ला अध्यक्षहरूको भेला गरेर आउने रायसुझावको आधारमा अर्काे निर्वाचन मिति घोषणा गर्ने तयारी गरिएको बखत उनलाई विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठनहरूबाट दबाब एवं धम्कीहरू आएको भन्दै उनले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । उनको राजीनामासँगै महासङ्घको निर्वाचन असोज १२ गते पनि नहुने भएको छ र अब छठपछि कात्तिकमा हुने बताइँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here