प्रस, पोखरिया, ४ असोज/
पोखरिया नगरपालिका–५ सतवरियास्थित राधाकृष्ण प्राविमा शुक्रवार भएको भेलाले विद्यालय व्यवस्थापन समिति गठन गर्न सकेन ।
वडाध्यक्ष महिन्द्र महतोको अध्यक्षतामा भएको भेलाको नगरप्रमुख प्रद्युम्न चौहानले उद्घाटन गरेका थिए । उनले शिक्षामा राजनीतीकरण नगर्न र विद्यालय सञ्चालनका लागि विशुद्ध अभिभावकबाटै नेतृत्व चयन गर्नुपर्ने सुझाए ।
उनले सबै थोकमा राजनीति हाबी हुँदै जाँदा विकृति मौलाएको भन्दै शिक्षालाई यसबाट अलग राखेर पोखरियामा शिक्षाको महŒव दर्शाउन आग्रह गरे । उद्घाटन सत्रमा पूर्वनगरप्रमुख दीपनारायण रौनियार, संविधानसभा सदस्य रामेश्वर रौनियार, वडाध्यक्ष लछुमनसाह कानू, स्थानीय गोवद्र्धन यादव, विन्ध्याञ्चल ठाकुरलगायतको सहभागिता थियो ।
सो विद्यालयमा १३२ जना अभिभावकमध्ये ५५ जना पदीय आकाङ्क्षी देखिएपछि सहमति हुन सकेन । आज सहमति हुन नसके पनि तीन दिनभित्र बैठक बोलाएर सहमतिको प्रयास गर्ने निर्णयसहित आजको भेला सकिएको छ ।
पोखरिया नपामा २५ वटा सामुदायिक विद्यालय छनन् र त्यसमध्ये १४ वटामा मात्र विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छ भने ११ वटामा बाँकी रहेको पोनपाका शिक्षा शाखा सहायक प्रमुख विनोद चौहानले बताए ।