प्रस, परवानीपुर, ४ असोज/
बारा जिल्ला विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टोलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले अपहेलना मुद्दामा सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

अदालतले जारी गरेको परमादेश आदेशलाई बेवास्ता गर्दै अध्यक्ष भुट्टोले निजी सम्पत्तिमा डोजर चलाएर घर भत्काएको आरोप लागेको छ । अध्यक्ष भुट्टोले विनाकुनै सूचना र कानूनी अनुमतिबेगर निजी जग्गामा डोजर चलाएको भनी पीडित पक्षले अदालतमा मुद्दा दायर गरेको थियो । अध्यक्ष भुट्टोले अदालतको आदेशलाई नजरअन्दाज गर्दै निजी सम्पत्तिमा हस्तक्षेप गरेको आरोपमा अदालतले सात दिनभित्र भुट्टोलाई अदालतमा उपस्थित भएर स्पष्टीकरण दिन आदेश दिएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीशद्वय गणेश ठाकुर र हरिप्रसाद जोशीको संयुक्त इजलासले असोज २ गते यस्तो आदेश गरेको हो । विश्रामपुर गापा–५ इटियाहीका पन्नालाल प्रसाद, आत्माकुमार गुप्ता र किनु गुप्तालगायतले उच्च अदालतमा अपहेलना मुद्दा दर्ता गराएका थिए ।

निजहरूका बुबा वीरकेश्वर साहको नाममा दर्ता रहेको घडेरी जग्गाबाट करीब पाँच धुर जग्गा मिचेर पक्की सडक ढलान गर्ने योजना अघि बढाउँदा जग्गाधनीहरूले सोविरुद्ध अदालतमा रिट दिएका थिए । सो मुद्दामा अदालतले उत्प्रेषण परमादेश जारी गर्दा पनि गापाध्यक्ष भुट्टो र वडाध्यक्ष अमिरीलालप्रसाद गुप्ताले अदालतको आदेश नमानेर निवेदकको घर भत्काउने कार्य गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here