चालू आवको पहिलो दुई महीनामा बङ्गलादेशबाट ४१ करोड ५७ लाख ८७ हजार ६५२ रुपैयाँ मूल्यको जुट आयात भएछ । दुई महीनामा उक्त परिमाणको जुट आयात भएछ भने, एक वर्षमा बङ्गलादेशबाट मात्रै कति मूल्यको जुट आयात भएको होला, अनुमान गर्न सकिन्छ । हाम्रो मुलुकमा भारत, बङ्गलादेश र चीनबाट जुट तथा जुटजन्य सामग्री आयात गरिन्छ । सोमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतबाट आयात हुने हो । मुलुकमा वार्षिक साढे चार अर्ब रुपैयाँभन्दा बढीको जुट आयात भइरहेको देखिन्छ । भन्सार विभागको तथ्याङ्क अनुसार पूर्वी नाका काँकडभिट्टाबाट मात्रै आव २०७९/८० मा तीन अर्ब ७४ करोड सात लाख ९९ हजार रुपैयाँको तीन करोड ७० लाख ५४ हजार ६०३ किलो जुट तथा जुटजन्य सामग्री आयात भएको थियो । यस्तै, गत आव २०८०/८१ मा तीन अर्ब ४६ करोड ९६ लाख १९ हजार रुपैयाँको ४१ करोड ४६ लाख ९४३ किलो जुट तथा जुटबाट निर्मित सामग्री आयात गरियो । यस अवधिमा अन्य नाकाबाट पनि जुट आयात भएका छन् ।

हाम्रो मुलुकमा रहेका ११ वटा जुटमिलमध्ये अहिले पनि पाँचवटा सञ्चालनमा छन् । ती जुट उद्योगबाट वार्षिक ६५ हजार मेट्रिक टन तयारी वस्तु उत्पादन भइरहेको छ । मुलुकको ठूलो र ऐतिहासिक विराटनगर जुट मिललगायत छवटा मिलहरू बन्द छन् । चालू रहेका मिलहरूका लागि वार्षिक करीब ७० हजार मेट्रिक टन कच्चा जुट आवश्यक पर्छ । आवश्यकमध्ये सुनसरी, मोरङ, झापा, सिराहा, सप्तरी, उदयपुरलगायत जिल्लामा गरी हाल करीब १८ हजार मेट्रिक टन जुटको कच्चा पदार्थ उत्पादन भइरहेका छन् । मुलुकभित्र जुटजन्य सामग्री उत्पादन भइरहेका तर कच्चा जुट उत्पादनमा भने प्राथमिकता दिइएको छैन । यसको फाइदा उठाउँदै अन्य मुलुकले कच्चा जुटको मूल्यमा अचाक्ली भाउ बढाउने गरेका छन् । बितेको वर्ष कच्चा जुट प्रतिकिलो २७ रुपैयाँले बढेपछि, चालू जुट उद्योग पनि बन्द गर्नुपर्ने अवस्थमा पुगेको थियो ।

नेपाली जुट मिलबाट उत्पादित ९० प्रतिशत सामग्री बाहिर निर्यात गरिन्छ । भारत, बङ्गलादेशलगायतका मुलुकहरू हाम्रा उपभोक्ता पनि हुन् । उपभोक्ताले मूल्य बढाएर दिन चाहँदैनन् । त्यहाँ पनि जुट मिलहरू छन् । त्यहाँका स्थानीय उद्योगले ढुवानी भाडा जति मात्रै भाउ कम गरेर दिंदा पनि उपभोक्ता प्रभावित हुन्छन् । यसो हुँदा मूल्य प्रतिस्पर्धा गर्न नेपाली जुट मिललाई गा¥हो छ । यदि उद्योगलाई चाहिए जति जुट स्वदेशमा उत्पादन भइदिएको भए, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नेपाली जुट उद्योगलाई सहज हुने थियो । यतिबेला कच्चा पदार्थ र उत्पादन दुवैको मूल्य नेपाली उद्योगको हातमा छैन । हाम्रो मधेस र भित्री मधेसका प्रायः सबै जिल्लामा जुटखेती हुन्छ । मोरङ, सुनसरी र झापा जिल्लाको प्रमुख बाली जुटखेती थियो । पछिल्लो समय घट्दै गएको छ । तीन जिल्लामा ६० हजार हेक्टरमा जुटखेती गरिन्थ्यो, अहिले करीब चार हजार हेक्टरमा मात्र सीमित भएको छ । जनशक्तिको अभावमा जुटखेती पलायन भएको हो । जनशक्तिमा लगानी पनि बढी थियो । रोपनी, कटनी र प्रशोधनका लागि मेशीन उपकरणको प्रयोगतर्फ लाग्ने हो भने जनशक्ति आवश्यक पर्दैन र स्वतः लगानी घट्छ । कृषकले माग गर्दा पनि सरकारी तवरबाट जुटको बीउबिजनसमेत उपलब्ध हुन सकेन । अन्य सहुलियत र सुविधाको कुरा नगरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here