प्रस, निजगढ, २८ भदौ/
सार्वजनिकरूपमा लक्ष्मीनारायण मन्दिर र धर्मशाला निर्माण गर्न जग्गादाताले राजमार्गसँगै जोडिएको करोडौं मूल्य पर्ने जग्गा दान गरे पनि केही व्यक्तिहरूले समिति गठन गरी व्यापारिक भवन बनाइ भाडामा लगाउँदै आइरहेको भन्दै शुक्रवार त्यसको कडा विरोध भएको छ ।
जुन उद्देश्यका साथ जग्गादाताले करोडौं मूल्य पर्ने जग्गादान गरेको छ । सोही उद्देश्यका साथ सार्वजनिक लक्ष्मीनारायण मन्दिर र धर्मशाला निर्माण हुनुपर्ने सचेत सरोकारवाला निजगढका संयोजक खड्गप्रसाद उप्रेतीले माग गरेका छन् । निजगढ नपा–९ स्थित शहीदचोकमा शुक्रवार आयोजित विरोध कार्यक्रममा उनले माग बेवास्ता गरे चरणबद्धरूपमा सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने उनले चेतावनी दिए ।
२०७१ सालमा लक्ष्मीनारायण भगवान् संरक्षण समिति गठन गरी काम शुरू गरे पनि मन्दिर र धर्मशाला निर्माण गर्नुपर्नेमा जग्गादाताका परिवारका सदस्यहरूलाई झुक्याउँदै व्यापारिक भवन बनाएको भन्दै व्यापक विरोध भएको थियो । सो समितिले सो भवन कृषि विकास बैंकलाई भाडामा दिएपछि बैंक सञ्चालन हुँदै आएको छ ।
निजगढ नपा–९ शहीदचोक राजमार्गसँग जोडिएको पाँच कट्ठा र निजगढमैं रहेको करीब एक बिघा व्यक्तिगत जग्गा सो मन्दिर र धर्मशाला सञ्चालन गर्न जग्गा दान गरिएको हो । उद्देश्यअनुरूप काम नभएको भन्दै जग्गादाताका पारिवारका सदस्यहरूले समेत विरोध जनाउँदै आइरहेका छन् । यस अघि भवन निर्माणमा व्यापक अनियमिततासमेत भएको जनगुनासो आएको थियो ।