प्रस, वीरगंज, २८ भदौ/
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहबीच शुक्रवार भेटवार्ता भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा शुक्रवार भएको भेटमा मधेस प्रदेशका विभिन्न समस्याहरूका विषयमा मन्त्री र मुख्यमन्त्रीबीच छलफल भएको बताइएको छ ।
भेटमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा कर्मचारीहरू जान नमान्ने र गएकाहरू पनि दक्ष नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको मन्त्री गुप्तालाई जानकारी गराएका थिए ।
सरकारी कार्यालयहरूका कार्यसम्पादनमा समस्या आउँदा सर्वसाधारण सेवाग्राही मर्कामा पर्ने गरेको भन्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा दक्ष र अनुभवी कर्मचारीहरू पठाउन मन्त्री गुप्तासँग आग्रह गरे । “मधेसमा कर्मचारीहरू जान मानिरहेका छैनन्, उहाँहरूको लागि काम गर्ने उपयुक्त वातावरण बनाउन हामी प्रयासरत छौं, तसर्थ दक्ष र अनुभवी कर्मचारीहरू पठाइदिनु,” उनले मन्त्री गुप्तालाई आग्रह गरे ।
मन्त्री गुप्ताले मधेस प्रदेशका समस्याबारे आफू जानकार र चिन्तित रहेको बताए । उनले मधेस प्रदेशका समस्या समाधान हुनेगरी आफूले कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।