प्रस, वीरगंज, २७ भदौ/
तेरापन्थ युवक परिषद्ले भदौ २५ गतेदेखि असोज ४ गतेसम्म ११ दिने रक्तदान कार्यक्रम सञ्चालन गरेको आज तेस्रो दिन दुई स्थानमा आयोजित रक्तदान कार्यक्रममा नौजना महिलासहित १३६ जनाले रक्तदान गरेका छन् ।
बारा जिल्लाको जीतपुरस्थित नन्दन घ्यू तथा आयल कम्पनीमा आयोजित रक्तदान कार्यक्रममा चारजना महिलासहित १११ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।
यसैगरी, सिमराको किरण आँखा अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा पाँचजना महिलासहित २५ जनाले रक्तदान गरेका केन्द्रका प्राविधिक मनीष कुमारले बताए ।
दुवै रक्तदान कार्यक्रममा सुरेन्द्र राउत, समीर अहमद, सञ्जय दास, राकेश तिवारी, धर्मेन्द्र साह, रोशन खड्का, सुवास रेग्मी, श्याम लामा, अञ्जुदेवी दास, दिनेश चौधरी, सुरज झा, महावीर सिंह, सन्तोष कर्ण, नवीन श्रेष्ठ, रञ्जीत गुप्ता, राहुल घिमिरे, माया विक, राकेश शर्मा, प्रमिला घिमिरे, गोपाल यादवलगायतले रक्तदान गरेका केन्द्रका प्राविधिक कुशवाहाले बताए ।
तेरापन्थ युवक परिषद्ले भदौ २५ देखि असोज ४ गतेसम्म ११ दिनमा १५ सय पिन्ट रगत सङ्कलनको लक्ष्य लिएको छ र तेस्रो दिनसम्म ३७३ पिन्ट रगत सङ्कलन गरिसकेको छ ।