प्रस, वीरगंज, २७ भदौ/
पत्रकार सुदर्शनराज पाण्डेको बिहीवार शिक्षण अस्पताल काठमाडौंमा निधन भएको छ ।
गत बिहीवार भदौ १३ गते बिहान पत्रकार पाण्डे बारा जिल्ला, जीतपुरसिमरा उपमहानगर अन्तर्गतको डुमरवानास्थित घरमा बिरामी भएपछि उनलाई तत्काल नारायणी अस्पतालमा भर्ना गरिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
भदौ १४ गते शुक्रवार आइसियूमा भर्ना भएका पत्रकार पाण्डेको अवस्था बिग्रिएपछि उनलाई भदौ १५ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो । करीब दुई साता भेन्टिलेटरमा रहेका उनको आज निधन भएको हो । वीरगंज र शिक्षण अस्पतालमा गरी दुई दिन होशमा रहेका पत्रकार पाण्डे अचेत भएर भेन्टिलेटरमा थिए र अचेत अवस्थामैं उनको आज निधन भएको हो ।
नौबिसे मूल घर भएका पत्रकार पाण्डे चार दशकभन्दा बढी समयदेखि वीरगंजलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । उनी हाल उत्थान साप्ताहिकका सम्पादक थिए । पत्रकार पाण्डेकी पत्नी बिन्दु पाण्डेको यस अघि नै देहान्त भइसकेको छ भने एकजना छोरा जनयुद्धमा मारिएका थिए । अहिले उनको एकजना छोरा र छोरी छन् ।
स्व पाण्डे नेपाल पत्रकार महासङ्घ पर्साका पूर्वसचिव र केही समय प्रतीक दैनिकमा स्तम्भलेखनमा संलग्न थिए ।