प्रस, वीरगंज, २७ भदौ/
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारण गरेको लक्ष्य अनुसार काम गर्न सङ्घीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन ।
मन्त्रीहरू र मुख्य सचिवसँग बिहीवार कार्यसम्पादन सम्झौता गर्न आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्छौं भन्ने कुरा थाहा नहुँदासम्म काम गर्न नसकिने बताए । त्यसैले कति समयमा कति काम गर्ने भन्ने कुराको लक्ष्य निर्धारण गर्न मन्त्रीहरूसँग कार्य सम्झौता गरेको ओलीले स्पष्ट पारे । हामी टीम स्प्रीटमा काम गर्छौं, एकअर्कालाई सहयोग गर्छौं, देशप्रति जिम्मेवार भएर अत्यन्त वफादारिताका साथ काम गर्छौं, जनताका बृहत्तर हितहरूमा, लोकतन्त्रको रक्षाका लागि, समाजमा शान्ति सुव्यवस्थाका लागि, देशमा सुशासन र समृद्धिको यात्रालाई गतिशीलताका साथ अगाडि बढाउनका लागि हामी सहमत छौं र हामी प्रतिबद्ध छौं, प्रम ओलीले भने ।
उनले बिस्तारै सुविधासँग काम गर्ने विगतको अभ्यास भएपनि अहिले ढिलो गर्ने र विश्राम गर्ने सुविधा सरकारलाई नभएको बताए । हामीले अत्यन्तै तीव्र गतिले काम अगाडि बढाउनुपर्नेछ, हाम्रो गतिमा तीव्रता चाहिन्छ, काममा योजनाबद्धता चाहिन्छ र एकअर्कामा पारस्परिक सहयोग चाहिन्छ, प्रम ओलीको भनाइ थियो ।
एउटा मन्त्रालय र अर्को मन्त्रालयबीच समन्वय गरेर काम गर्न आग्रह गर्दै कुनै पनि कुरामा नक्कल नगर्न सचेत गरे । कसले कुन काम गर्ने भन्ने कुरामा स्पष्ट भएर समन्वयका साथ काम गर्न उनले आग्रह गरे ।