सुग्रीव साह, भिस्वा, २७ भदौ/
सीमावर्ती बजार सिकटास्थित भारतीय सुरक्षा बल (एसएसबी)ले भारतीय जाली नोटसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधवार साँझ नेपालको भिस्वाबाट मोटरसाइकलमा सिकटातर्फ जाँदै गरेका दुईजनालाई चेकजाँच गर्दा उनीहरूबाट भारु ५०० का २० थान नोट बरामद भएको र बरामद नोटहरू जाली भएको पाइएपछि उनीहरूलाई एसएसबीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दुईजना नरकटियागंज शिकारपुर थाना क्षेत्र अन्तर्गत सोफवा गाउँ निवासी दीपक तिवारी र सर्फुद्दीन आलम रहेको एसएसबीका सहायक सेनानायक गुलाबकुमार चौधरीले बताए । उनले मानिस र जाली नोटलाई सिकटा प्रहरीको जिम्मा लगाएर कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । सिकटा थानाध्यक्ष राज रोशनले प्रारम्भिक अनुसन्धानमा दुवैजना भारतीय जाली नोटका कारोबारी भएका र उनीहरू सीमावर्ती क्षेत्रमा जाली नोट सञ्जाल विस्तारमा लागेका बुझिएको बताए । पक्राउ परेका तिवारी र आलमलाई कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको थानाध्यक्ष रोशनले बताए ।