मधेस प्रदेशमा वन सीमा अतिक्रमण एक गम्भीर समस्या बनेको छ । प्रदेश सरकारले जारी गरेको तथ्याङ्क अनुसार यहाँको वन क्षेत्रमा पाँच हजार ६९२ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको देखियो । मधेसमा वनजङ्गलको कुल क्षेत्रफल करीब दुई लाख हेक्टर छ । सोमध्ये पाँच हजार ६९२ हेक्टर अर्थात् २.८ प्रतिशत क्षेत्र अतिक्रमणको चपेटमा परेको हो । हाम्रो मुलुकमा वनजङ्गल, बुट्यान क्षेत्रले करीब ६२ लाख हेक्टर क्षेत्र ओगटेकोमा करीब एक लाख हेक्टर अर्थात् १.६ प्रतिशत क्षेत्र अतिक्रमणमा परेको छ । मधेसमा भएको वन अतिक्रमण दर, मुलुकको समग्र अतिक्रमण दरभन्दा निकै उच्च छ । सातवटा प्रदेशमध्ये पनि सबैभन्दा बढी प्रतिशत वन क्षेत्र मधेस प्रदेशमा अतिक्रमणमा परेको देखिन्छ । समस्या घट्नेतर्फ होइन कि, बढ्दै गइरहेको छ ।

वन अतिक्रमणको मुख्य कारण वन कर्मचारी र सुरक्षा निकायहरूको लापरवाही हो । किनभने वनकर्मीविहीन वन क्षेत्र छैन । हरेक वन क्षेत्र कुनै न कुनै वन एकाइ मातहत पर्छ । त्यस एकाइमा वन प्रशासन, सशस्त्र सुरक्षाकर्मी तैनाथ छन् । उनीहरूको सहयोगका लागि आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एकाइहरूलाई समेत सरकारको निर्देशन छ । त्यसैगरी स्थानीय उपभोक्ता र सामुदायिक तथा साझेदारी वन एकाइहरू पनि वनले परिचालन गर्न सक्ने अवस्थामा छन् । व्यक्तिले आफ्नो घर, घडेरी तथा खेतबारीको आली, धुरी, साँध, किल्ला रक्षा गरेजस्तै वन एकाइलाई सम्बन्धित क्षेत्रको वन सीमा, आली, किल्ला हेर्न र सुरक्षाका लागि जिम्मेवारी दिइएको हुन्छ । सकिन्छ वनले एक्लै गर्ने, सकिंदैन भने अरूसँग समन्वय र सहकार्य गरेर भएपनि जिम्मेवारी निभाउनु उसको दायित्व हो । वनकर्मीको सुरक्षा खतरामा पर्न यतिबेला मुलुकमा सशस्त्र द्वन्द्व छैन, चम्बलको घाँटीमा जस्तो डाँकाहरू पनि यहाँ छैनन् । इमानदारीका साथ वन कर्मचारी लागिपर्ने हो भने, वन अतिक्रमण र चोरी तस्करी नियन्त्रण गर्न सकिन्छ । यसको निम्ति वनकर्मीसँग रहेका हालको स्रोतसाधन र जनशक्ति पर्याप्त छ । वन अतिक्रमण गरेर संधियारले कहीं बोकेर जाँदैन । कम्तीमा महीनामा एकपटक पनि वनकर्मीले वन सीमा क्षेत्र निरीक्षण गर्ने हो भने, सीमा अतिक्रमण भएको थाहा पाउन सकिन्छ । ताजा अतिक्रमण हटाउन गा¥हो हुँदैन । गा¥हो भन्ने त बहाना मात्रै हो, या अतिक्रमणकारीसँगको मिलेमतो हो । वनकर्मीको भूमिका सही हुने हो भने अतिक्रमणकारीहरू कानूनदेखि डराउँछन् ।

मधेसमा नै अतिक्रमणको दर उच्च हुनुले पनि वन कर्मचारीतर्फ प्रश्न उठाएको छ । यहाँको जमीन मूल्यवान् छ । अतिक्रमणकारीले वन कर्मचारीसँग रकम खर्च गरेर भएपनि मिलेमतो गर्न चाहन्छन् । अझ भन्नुपर्दा मधेसका वनसीमा अतिक्रमणकारीहरूको तुलनामा अन्यत्रका वन अतिक्रमणकारीहरूले खर्च गर्न सक्दैनन् । वन कर्मचारीहरूमा केवल सुविधा र लाभको पछि दौड्ने प्रवृत्ति हाबी छ । जिम्मेवारीको काम नगर्ने अनि हाकिम वा राजनीतिक शक्तिको आड लिएर काम चोर्नेहरू त झन् सङ्गठनका लागि क्यान्सर साबित भएका छन् । वन अतिक्रमण हटाउन सबैभन्दा पहिले वन कर्मचारीहरूको कार्यक्षेत्र र कर्तव्यबोधलाई सुधार्न आवश्यक छ । उनीहरूलाई वन संरक्षणका लागि समर्पित गरिनुपर्छ । जिम्मेवारी निर्वाह नगर्ने र अवैध गतिविधिहरूमा संलग्न हुनेहरूमाथि शून्य सहनशीलता अपनाइ निर्मम कारबाई गरिनुपर्छ भने, इमानदारको हौसला पनि बढाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here