प्रस, सर्लाही, १० भदौ/
लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१’ अखण्ड भण्डारीको ‘बोरा’ आख्यानलाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्वतन्त्र विज्ञहरू सम्मिलित पुरस्कार छनोट समितिले उत्कृष्ट १० कृतिहरूमध्येबाट भण्डारीको कृति ‘बोरा’ आख्यानलाई छनोट गरेको हो । यसैगरी, ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८१’ पत्रकार शङ्कर श्रेष्ठले पाउने भएका छन् । उनी लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कारको राशि २५ हजार र लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

उक्त दुवै पुरस्कार आउँदो मङ्सिर १५ गते प्रदान गरिने कार्यक्रम रहेको परिषद्ले जनाएको छ । त्यसैगरी, साहित्यिक शहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८१ बाट पत्रकार रोचक घिमिरेलाई सम्मान गरिने निर्णय भएको छ । क्रूर जहानियाँ राणाशासनको अन्त्यका लागि युद्धमा लाग्दा शहादत प्राप्त गरेका, ‘मकै’ पुस्तकका लेखक अधिकारीको स्मृतिमा परिषद्ले पुरस्कार अक्षयकोष स्थापना गरेको हो । सोही कोषको ब्याजबाट उक्त पुरस्कार प्रदान गर्न शुरू गरिएको परिषद्ले जनाएको छ ।

नेपाली भाषा तथा साहित्यका क्षेत्रमा लामो समय सेवा गरेका पत्रकार घिमिरेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए । यस पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here