हिमालय शृङ्खलाभित्र बसेको देश नेपाल, संस्कृति र आध्यात्मिकतामा धनी राष्ट्र हो । नेपाली जनताको प्रकृतिसँग गहिरो जरा गाँसिएको उनीहरूको परम्परा र चाडपर्वले प्रतिविम्बित गर्छ । विभिन्न जातजाति र धर्मावलम्बीले वशीभूत भएको यो देशमा प्रकृतिका प्रत्येक प्राणीलाई पुज्ने चलन छ, जसले सबै प्राणी, वनस्पति र मानवबीचको इको सिस्टमलाई चलायमान बनाउन मदत गर्छ ।
यस्तै, एउटा अनौठो उत्सव नागपञ्चमी हो । सर्पहरूका देवता नागको सम्मानको रूपमा सदियौंदेखि यो पर्व मनाइँदै आइएको छ । पौराणिक सर्प देवताहरूको पूजा मात्र होइन, नागपञ्चमीले मानव र प्रकृतिबीचको अन्तरसम्बन्धलाई जनाउँछ । यस पर्वले नेपालको सम्पदाको एक आकर्षक झलक प्रदान गर्छ । जहाँ जीवन्त हिन्दू पौराणिक कथाहरू प्राकृतिक संसारसँग निर्बाधरूपमा मिसिन्छन् ।
वैदिक सनातन र हिन्दू पञ्चाङ्ग अनुसार प्रत्येक वर्षको श्रावणमास शुक्लपक्ष पञ्चमी तिथिका दिन सर्पहरूका राजा नागको पूजाअर्चना गरेर नागपञ्चमी पर्व मनाइन्छ । प्राचीन भारतवर्ष अन्तर्गत पर्ने नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान आदि हिन्दू राज्यहरू र नेपाली रहने संसारका अन्य मुलुकहरूमा पनि श्रावणमास पूर्णचन्द्र पक्षको पाचौं दिन नागनागिनीको तस्वीर निर्माण गरेर विधिपूर्वक चन्दन, अक्षता, फूलपाती, दुबो, फलफूल, प्रसाद आदि सभक्तिपूर्वक अर्पण गरी बडो श्रद्धाभावले पूजा गरेर नागनागिनीलाई खुशी पार्न सकेमा १२ वटा राशीहरूबाट हुन सक्ने सम्भाव्य दोषादि मेटिन्छन् । अतिवृष्टि, अनावृष्टि, बाढी–पहिरो, अकाल मृत्यु, भूकम्प आदि जस्ता दैवी तथा आपत्कालीन विपत्तिबाट सुरक्षित रहन सकिन्छ भन्ने आमजनविश्वास छ ।
नेपालको तराईदेखि हिमाली भेकसम्म हरेक गाउँटोलमा यस दिन पण्डितद्वारा रुद्री पाठ गराइ नागको पूजनस्थलमा जलधारा सञ्चालन गराएर शिवजीको पूजा आराधना गर्ने कार्य हुन्छ । चामलको पीठो र कपासद्वारा निर्मित नागनागिनीको प्रतिमालाई छुट्टाछुट्टै केराका पातमा विराजमान गराइन्छ । स्नान, जप–ध्यान आदि जस्ता प्रातःकालीन कार्यहरूबाट निवृत्त भई सेता, चोखा वस्त्र धारण गरेका कर्ताबाट विधिपूर्वक शिवजी र नागनागिनीको प्रतिमा आसपासमा काब्रो या पाख्रीको पातद्वारा निर्मित १०८ दुनामा लावा, रोटी, खीर, जौ, तिल, कुश, जनै–सुपारी, गाईको दूध–दही, अन्य प्रसाद राखेर ॐ अनन्ताय नमः । ॐ वासुकी नागाय नमः । ॐ कर्काेटकाय नमः । ॐ तक्षकाय नमः । ॐ शङ्खपालाय नमः । ॐ महापद्माय नमः । ॐ नीलाय नमः । ॐ कम्बलाय नमः । ॐ शेषाय नमः । ॐ कालीय नागाय नमः । ॐ नवकुल धिमाय नमः । ॐ सवेभ्यो, ज्ञातेभ्यो, अज्ञातेभ्यो, नाग–नागिनी देवी–देवताभ्यो नमः भनेर मन्त्रोच्चारण गर्दै चढाउने कार्य हुन्छ । नागपञ्चमीका दिन यस नाग पूजनस्थल मात्र नभएर सबै घरका भित्र–बाहिर सरसफाइ गरेर सफा, राम्रो, चोखो र पवित्र पारिन्छ । नागपूजन कार्य सकिएपछि सबैलाई टीका लगाउने काम, कन्याहरूलाई टीका लगाएर दक्षिणा दिने काम, प्रसाद वितरण गर्ने काम आदि सम्पन्न गरिन्छ । तत्पश्चात् पण्डितद्वारा अभिमन्त्रित नागदेवताका फोटाहरू विधिपूर्वक आआफ्ना घरका मूलढोकामा रीतपूर्वक टाँसेपछि नागपूजासम्बन्धी सबै कार्य विसर्जन भएको मानिन्छ । तर व्रत, उपासना गर्नेहरूले भने साँझ पारेर धूप, दीप, आरती आदि गरेपछि मात्र भोजन ग्रहण गर्ने गर्छन् र त्यसपछि सबैले भोजन गर्ने/गराउने काम हुन्छ । कतिपय समुदायमा यस दिन खसी, बोका काटेर भोग दिई नागको पूजा गर्ने चलन पनि हुन्छ, तर यो चलन शास्त्रसम्मत नभई मानिसहरूले आफ्नो निजी स्वार्थपूर्तिका लागि मात्र चलाउँदै आएको कुरा वृद्धवृद्धाहरूले बताउँछन् । सर्पहरूका राजा नागलाई हिन्दू धर्मावलम्बीले देवतासमान मानेर पूजा गर्ने चलन छ ।
नागपञ्चमीका दिन नागदेवताको पूजनस्थलमा सम्पूर्ण सामग्रीको तयारी पूरा भएपछि पूजन कार्यको थालनी गर्नुभन्दा पहिले मुख्य कर्ताले मङ्गलाचरणस्वरूप केही समय ध्यान गर्दै यी मन्त्रहरू मनमनले जप–आराधना गर्ने गरिन्छ :
कर्पुर गौरम् करुणावतारम्
संसार सारम् भुजगेन्द्र हारम्
सदा वसन्तम् ह्दया र वृन्दे
भवम् भवानी सहितम् नवामी ।।
त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धु च सखा त्वमेव
त्वमेव विद्या द्रविणम् त्वमेव
त्वमेव सर्वम् ममदेव देव ।।
अस्तिकस्य मुनेर्मातर्जगदानन्द कारिणी
एह्येहि मनसे देवी नागमातर्नमोस्तुते
अननत वासुकी शेष पद्मनाभं च कम्बलम्
शङ्खपालं धार्त राष्ट्रं तक्षकं कलियं नमः ।।
नाग प्रीता भवन्ति शान्तिमाप्नोति बिया विबोः
सशान्ति लोक मा साध्य मोदते सस्थित समः
एतानि नव नामानि नागानाम् च महात्मनः
सायंकाले पठेन्नित्यं प्रातःकाले विशेषत
तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत ।।
सर्पहरूका राजा नागको पूजाको महŒव र सुरुआतबारे हिन्दू धर्मशास्त्रहरूमा धेरै किसिमका कथनहरू भेटिन्छन् । सत्ययुगमा देवता र दानव मिलेर वासुकी नागको नेति बनाएर समुद्रमन्थन गरी अनेकानेक महŒवपूर्ण वस्तुहरू प्राप्त भएको तथ्य पुराणहरूमा उल्लेख भएको पाइन्छ । द्वापरयुगमा श्रीकृष्णले यमुना नदीको पानीलाई दूषित बनाउने कालिया नागसँग युद्ध गरेर परास्त गरी कालिया नागका सबै परिवारलाई त्यहाँबाट लखेटेर नागलोकमा गएर बस्न भनी पठाएको प्रसङ्ग पनि हाम्रै शास्त्रमा पाइन्छ । सुप्रसिद्ध हिन्दू प्राचीन ग्रन्थ महाभारतका अनुसार ब्रह्मपुत्र कश्यप ऋषिले दक्ष प्रजापतिका कदरु र विनता नाम गरेका दुईटी छोरीलाई विवाह गरेछन् । कदरुले नागे वर्णको सन्तान जन्माइछन्, जुन आधा मानव र आधा सर्प रूपका थिए । पुरुष नागलाई नागराजा र स्त्री नागलाई नागिनी भनिने गथ्र्याे । यता अर्की पत्नी विनताले भने अरुण र गरुडलाई जन्म दिइन् । अरुण सूर्य भगवान्का सारथि भए भने पक्षीराज गरुड विष्णु भगवान्का वाहक भए ।
गरुड पुराण, अग्नि पुराण, नारद पुराण, स्कन्द पुराण, ब्रह्मवैव्रत पुराण, प्राचीन महाभारत आदिमा सर्पहरूका राजा नागनागिनीको पूजाअर्चनाबारेमा विस्तृत वर्णन गरिएको छ । महाभारतका अनुसार राजा परीक्षितलाई श्रृङ्गी ऋषिबाट सात दिनका दिन तक्षक नागले डसेर मृत्यु हुने भनी शाप परेपछि परीक्षितका छोरा जनमेजयले पिताको मृत्युको बदला लिन भनी यस धरतीका सम्पूर्ण सर्प र तक्षक नागलाई समेत मार्न भनेर महामुनि वैशंपायनद्वारा एक विशाल सर्पयज्ञको आयोजना गरे । त्यस यज्ञमा ख्यातिप्राप्त ब्राह्मणहरूको वेदध्वनि गुञ्जिरहेको हुन्थ्यो । चारैतिरबाट सर्पहरू आउँंदै उक्त यज्ञकुण्डमा होमिने गरेका थिए ।
लाखौं सर्पहरू यज्ञकुण्डमा जल्दै जानाले त्यहाँ वरिपरिको वातावरण डुङ्डुङ्ती गन्हाउने दुर्गन्धित भइरहेको थियो । तक्षक नागले आफू सुरक्षा सङ्कटमा परेको ठानेर जीवनरक्षाका लागि देवराज इन्द्रसँग गुहार माग्न पुगे । इन्द्र आएर त्यहाँ यज्ञ रोक्नका निम्ति हरप्रयास त गरे, तर यज्ञ रोक्न उनको शक्ति पुगेन । स्थिति झन् भयावह हुँदै गयो, धरतीका सर्पहरू जति सबै सखाप हुँदै गए । तक्षक नाग र देवराज इन्द्रसमेत शक्तिशाली त्यस यज्ञको घेराबन्दी हुन पुगे । त्यसपछि देवराज इन्द्रले तक्षक नागकी बहिनी मनसादेवीलाई आफूहरू दुवै सङ्कटमा परेको जानकारी गराए । मनसादेवीले आफ्नो महामुनि छोरा अस्तिकलाई जनमेजयसामु गएर यज्ञ रोक्न बिन्ती चढाउन भनिन् । अस्तिक मुनि एक साधु ब्राह्मण भेषमा त्यस सर्पयज्ञ परिसरको ढोकामा गएर स्तुति, वन्दना गर्न थाले । राजा जनमेजय यिनको स्तुतिबाट प्रसन्न भएर याचकसामु आई वरदान माग्न भने । अस्तिक ऋषिले सर्पयज्ञ रोक्ने वरदान मागे । धर्मपरायण र ब्राह्मणभक्त जनमेजयले तथास्तु भनी तत्काल सर्पयज्ञ रोक्ने आदेशसमेत दिए । उक्त सर्पयज्ञ रोकियो । यस धरतीमा बाँकी रहेका सबै सर्प र तक्षक नागको समेत ज्यान जोगियो । यो घटना सर्पहरू र तक्षक नागका निम्ति ज्यादै महŒवपूर्णको हुन गयो । यो दिन श्रावण मास शुक्लपक्षको पञ्चमी तिथिको दिन थियो । सर्पहरू र मानवजीवनको पारस्परिक सम्बन्धलाई अझ मजबूत बनाउँदै लैजाने अभिप्रायले त्यसै समयदेखि नागको पूजा गर्ने चलनको थालनी यस धरतीमा भएको हो भन्ने शास्त्रीय कथन छ ।
हिन्दू धर्मशास्त्रमा नागदेवताको महŒव र महिमा अपार भएको बताइएको छ । हिन्दू परम्परामा धेरैधेरै समय पहिलेदेखि सर्पहरूका राजा नागनागिनीको पूजा, सेवा–सम्मान आदि गरिएका दन्त्यकथाहरू प्रशस्त सुन्नमा आउँछन् । यस दिन नाग मन्दिरहरू र शिव मन्दिरहरूमा शिवजी र नागदेवताको धूमधामका साथ पूजाअर्चना गरिन्छ । श्रीहरि (विष्णु भगवान्) स्वयम् नागशøयामा शयन गर्नुहुन्छ, नाग छत्रबाट सुशोभित पनि हुनुहुन्छ । श्रावण महीना शिवजीको पूजा आराधना गर्ने महीना हो । नागपञ्चमीका दिन शिवजीलाई आराध्यदेव मानेर नागदेवताको पूजा गर्ने गरिन्छ । देवादिदेव महादेवलाई कालका पनि काल अर्थात् महाकालेश्वर हुन् भनेर भन्ने गरिन्छ । शिवजीले पनि आफ्नो गलामा नागको माला धारण गर्न स्वीकार गरेका छन् । नागको सेवा र पूजा आराधना गर्नाले शिवजी पनि अति सन्तुष्ट हुन्छन् भनेर भनिएको छ । सर्पहरू जीवजन्तुहरूमध्ये ज्यादै ईख लिने जनावरहरूमा पर्छन् भनेर भनिन्छ । तर नगिज्याउने र नजिस्क्याउने हो यदि भने धेरैजसो सर्पले मानिसलाई डस्दैनन् भनेर पनि भन्ने गरिन्छ । समग्रमा सर्पहरू मानवजातिका लागि लाभदायक प्राणीहरू मानिन्छन् । आकस्मिक भय, त्रास, दैवी विपत्ति आदिबाट जोगिनका निम्ति नागजातिको सेवा–पूजा गर्न अति आवश्यक मानिएको छ ।
यस धरतीमा अदृश्यरूपले रहेको वैभव, धन–दौलतको सुरक्षा नागदेवताले गरिरहेका हुन्छन् । भगवान् विष्णु धरतीमा अवतार लिंदा आफ्नो साथमा नागदेवताको अवतार पनि कहिल्यै छुटाउँंदैनन् । नागदेवतालाई सम्पत्तिका मालिक भनेर पनि भन्ने गरिन्छ । नागदेवताको सेवा गर्नाले लुकेर रहेको सम्पत्ति हात पार्न सकिन्छ भन्ने लोकोक्ति छ । द्वापरयुगताका इन्द्रप्रस्थको जमीनमुनि लुकाएर राखिएका सौर्णमयी, लडाइँमा प्रयोग गरिने शक्तिशाली प्राचीन हातहतियारहरू, सुन तथा चाँदीका असर्फीहरू,थुप्रै धन–दौलत रहेको ढुकुटी आदिको पहरा कालिया नागले गरिरहेका थिए । त्यति बेला कौरव र पाण्डवहरूबीच अंशबन्डा गर्दा इन्द्रप्रस्थ पाण्डवहरूको भागमा परेको थियो । श्रीकृष्णले देवराज इन्द्रद्वारा त्यहाँ पहरा गरेर बसिरहेका कालिया नागलाई हटाउन लगाएर त्यस ठाउँमा रहेको सबैथोक पाण्डवहरूलाई दिलाएका थिए भन्ने कुरा हिन्दू धर्मको सुप्रसिद्ध प्राचीन ग्रन्थ महाभारतबाट अवगत हुन्छ । कतिपय नागदेवताहरूले आफ्नो टाउकोमा बहुमूल्य वस्तु मणि धारण गरेका हुन्छन् । यस्ता नागदेवताहरूको सेवा, पूजा गरेर उनीहरूलाई प्रसन्न पार्न सकियो भने उक्त मूल्यवान् मणि प्राप्त गरेर लाभान्वित हुन पाइन्छ भन्ने हिन्दू समाजमा जनविश्वास छ । नाग राजाको पूजा गर्ने नागपञ्चमीका दिन जमीन खनजोत नगर्ने, बोटबिरुवा नकाट्ने, सियोले सिउने, उन्ने काम नगर्ने भन्ने धार्मिक विधानमा उल्लेख गरिएको छ ।
अन्त्यमा,
नागपञ्चमी एउटा चाड मात्र होइन, यो नेपालको आत्माको प्रतिविम्ब हो । नागपञ्चमी नेपालको समृद्ध सम्पदाको ज्योतिको रूपमा उभिएको छ, पुरातन र समसामयिक समयबीचको खाडललाई निर्बाधरूपमा पार गर्दै र हरेक पुस्तामा यसले गहिरो छाप छोड्ने गर्छ ।