प्रस, जनकपुरधाम, ६ भदौ/
सङ्घीय गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको बताएका छन् । बिहीवार बिहान जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानून नै नयाँ बनाउने गरी गृह मन्त्रालयबाट प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । गृहमन्त्री लेखकले भने, “मैले मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसकेको छु । त्यो अर्थ मन्त्रालयमा पुगेको छ । विभिन्न मन्त्रालयहरूको सहमतिपछि संसद्मा जान्छ ।”

उनले प्रहरीसम्बन्धी सङ्घका विद्यमान ऐनहरूमा संशोधन/परिमार्जन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने बताउँदै प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रूप पाउने दाबी गरे । गृहमन्त्रीले मधेस प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुनेमा विश्वस्त हुन आग्रह गर्दै वर्तमान सरकार मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्न आएको बताए ।

मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको दोहो¥याउँदै भने, “यो सरकार डेलिभरी दिनका लागि बनेको हो, डेलिभरी हुन्छ, मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ ।”

मुलुकमा राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन प्रवद्र्धन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै उनले ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोगका लागि जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here