प्रस, महोत्तरी, ६ भदौ/
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं ८ रमौलमा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । सोही स्थान निवासी विवाहिता २० वर्षीया रीनादेवी रायको मङ्गलवार राति मृत्यु भएकोमा बिहीवारसम्म अन्तिम संस्कार हुन सकेको छैन ।

दाइजोको निहुँमा पति रोहनकुमार राउतसहित ससुराली पक्षले हत्या गरेको रीनाको माइती पक्षको आरोप छ । मृतकका पति रोहनले राति खाना खाएर सँगै सुतेकी रीना अचानक बिरामी भएकीले प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको लागि लगेको र अस्पतालमा नै मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

यता माइत पक्षले आफूहरू पुग्दा रीनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा नीलडाम जस्तो देखिएको भन्दै रीनाको हत्या भएको दाबी गरेका छन् । रीना रक्षाबन्धन मनाएर मङ्गलवार माइतबाट घर फर्किएकी थिइन् ।

छोरीको हत्या भएको दाबी गर्दै माइत पक्षले पति रोहनसहित परिवारका चारजनाविरुद्ध प्रहरीमा कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको छ । ससुरा ५२ वर्षीय बृजमोहन राउत, सासू ४८ वर्षीया मनतोरदेवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध जाहेरी परेको हो ।

मृतक रीनाको शव शल्यपरीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । शल्यपरीक्षणपश्चात् मृत्युको कारण खुल्न सक्ने महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए । जाहेरी परे पनि हालसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको र घटनाको अनुसन्धान भइरहेको प्रनाउ जयसवारले जानकारी गराए ।

धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रीनाको गत वैशाख १९ गते सामाजिक परम्परा अनुसार रोहनसँग विवाह भएको थियो । विवाहको केही दिन दाम्पत्य जीवन राम्रै चले पनि पछिल्लो समय थप दाइजो माइतबाट ल्याउन भनी छोरी रीनालाई पतिसहित घरपरिवारले निरन्तर झैंझगडा, कुटपिट तथा यातना दिने गरेको रीनाका बुबा नवल कुमारको भनाइ छ ।

रक्षाबन्धनपछि छोरीलाई पु¥याउन आफैं गएको र अब कुटपिट नगर्न भन्दै समाजका भद्रभलादमीको रोहबरमा ज्वाइँ र उनको परिवारजनलाई सम्झाएर फर्किएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here