प्रस, पचगावाँ, ५ भदौ/
मङ्गलवार रातिदेखि परेको वर्षाले पर्सा जिल्लाको विभिन्न स्थानमा बाढी आएर सडक अवरुद्ध भई आवतजावत ठप्प भएको छ।
जनता सडक अन्तर्गत बारा जिल्लाको जीतपुरदेखि पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरटाँडीस्थित जमुनिया खोलामा बाढीको कारण आवतजावत ठप्प भएको छ। पुल निर्माण नभएको कारण खोलामा आएको बाढीले यो क्षेत्रबाट आवतजावत रातिदेखि बन्द छ।
यसैगरी, सखुवापरसौनीको सिरही खोला भएर हुने आवागमन पनि बन्द छ। थरूहट सडक अन्तर्गत पर्सागढी नगरपालिका–९ तिलावेपुल निर्माण नहुँदा बाढीले यो क्षेत्रबाट पनि आवतजावत ठप्प भएको छ। तिलावे पुलमा पप्पु कन्स्ट्रक्शनले पुल निर्माणको ठेक्का लिएको तर अहिलेसम्म पुल निर्माण नभएको कारण हिजो राति आएको वर्षाले खोलामा बाढी आएर आवागमन अवरुद्ध भएको स्थानीयले बताएका छन्।
पटेर्वासुगौली गापा–४ भलुवाही खोलामा आएको बाढीले सो क्षेत्रमा अहिले आवतजावत ठप्प छ। यसैगरी जीराभवानी गापा–१ महादेवपट्टिस्थित ओरिया खोलामा पनि बाढीले आवतजावत ठप्प भएको छ। पुल नभएको कारण यो क्षेत्रमा पानीको बहाव बढेर बन्द भएको हो।
प्रस, पोखरिया/
पोखरिया–मिर्जापुर सडकखण्ड अन्तर्गत पोखरिया नगरपालिका–३ वसन्तपुर र लङ्गडीबीचको कलभर्ट नजीकको भासिएको बाटो मरम्मत भएको छ। तीन दिनदेखि सो सडकखण्डको बाटो भासिएर आवतजावत ठप्प भएको थियो।
वसन्तपुरको कलभर्ट नजीकको बाटो मरम्मत भएर सञ्चालन भए तापनि वसन्तपुरमैं रहेको कच्ची सडकमा राखिएको राबिस (इँटाको धूलो) हिजो राति आएको पानीले हिलाम्य हुँदा सवारी साधनको आवतजावतमा समस्या भएको छ।
यसैगरी, धोबिनीदेखि बर्वासम्मको कच्ची बाटोमा रातिदेखि परेको पानीले ठाउँ–ठाउँमा सडक खाल्डो भएको र दुई चक्के र चारचक्के सवारी साधनको आवतजावतमा निकै समस्या भएको स्थानीयले बताएका छन्।