नरेश यादव, पर्सागढी, ४ भदौ/

पर्सा जिल्लाको १४ पालिकामध्ये आठवटा पालिकाको मात्र भवन छ र छवटा पालिका भाडामा सञ्चालित छन्। 

आफ्नै भवनमा सञ्चालित हुने पालिकाहरूमा वीरगंज महानगर, पर्सागढी, पोखरिया नगरपालिका र गाउँपालिकाहरूमा ठोरी, जगरनाथपुर, धोबिनी, कालिकामाई, पकाहामैनपुर छन्। बाँकी एउटा बहुदरमाई नपा र पाँचवटा गापा पटेर्वासुगौली, जीराभवानी, सखुवापरसौनी, विन्ध्यवासिनी, छिपहरमाई गरी पाँचवटा पालिका भाडामा सञ्चालित छन्। 

वीरगंज महानगरपालिका शुरूदेखि आफ्नै भवनमा सञ्चालनमा रहँदै आएको छ भने २०७४ सालमा स्थानीय तह अन्तर्गत पालिकाहरूको गठन भएपछि सर्वप्रथम पोखरिया नपा, ठोरी गापाले भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएका छन्। पर्सागढी नपाले हालै मात्र भवन निर्माण गरी सञ्चालनमा आएको छ। शुरूमा पर्सागढी नपा पनि लामो समय भाडामा सञ्चालन भएको थियो। 

जगरनाथपुर गापाले चार करोड लागतमा कार्यालय भवन निर्माण गरी सञ्चालनमा छ। धोबिनी, पकाहामैनपुर र कालिकामाई गापा पुरानो वडा कार्यालयमा थप भवन निर्माण गरी सञ्चालनमा छ। बहुदरमाई नपाका प्रमुख सिंहासन साहले कार्यालय सञ्चालनको लागि भवन निर्माण गर्ने निर्णय भएको तर कार्य शुरू नभएको बताए। हाल यो नपाको कार्यालयमध्ये स्वास्थ्य, शिक्षा, खेलकूद शाखा नगरप्रमुख साहकै घरमा सञ्चालित छ। उनी २०७९ सालको निर्वाचनमा जितेपछि अन्यत्र भाडामा रहेको सो शाखा आफ्नो घरमा स्थापना गरेका हुन्। 

छिपहरमाई गापाका उपाध्यक्ष लीलावतीदेवी कानूले गापामा रहेको एक बिघा छ कट्ठाको पोखरी जग्गामा कार्यालय भवन सञ्चालन गर्ने छ महीना अगाडि निर्णय भएको तर त्यसको लागि चालू आवमा बजेट भने विनियोजन नगरेको बताइन्। गापाको बजेट अहिले ३५ करोडभन्दा बढी छ। जनप्रतिनिधिहरू सो बजेटबाट सेवासुविधा लिन चुकेका छैनन्। २०७४ सालदेखि नै गापा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू चार चक्के गाडीको शोख राख्दै आएका छन् भने वडाध्यक्षहरू गापाकै बजेटमा मोटरसाइकल, मोबाइललगायत सुविधा भोग गर्दै आएका छन्। तर गापाको कार्यालय भवन बनाउनेतर्फ भने उनीहरूको चासो छैन। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here