प्रस, पोखरिया, ३ भदौ/
कालिकामाई गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दी सात दिनदेखि नखुल्दा सेवाग्रFहीलाई मर्का परेको छ। गापा कार्यालयका १० जना स्वास्थ्यकर्मीलाई गत वर्ष करारमा म्याद थप नगरेको विरोधमा दुई साताभन्दा बढी समयदेखि आठजना स्वास्थ्यकर्मीले धर्ना दिएका थिए।
उनीहरूको पक्षमा ऐक्यबद्धता जनाउँदै उपाध्यक्ष राजपति देवी, वडाध्यक्षहरू, एमाले, काङ्ग्रेस र माओवादीका स्थानीय नेता र गाउँलेहरूले एक साता अघि गापा कार्यालयमा भेला भएर तालाबन्दी गरेका थिए। उनीहरूले करारमा रहेका आठजना स्वास्थ्यकर्मीहरूको म्याद थप गर्नुपर्ने माग राखेका थिए। १० जनामध्ये एकजनाको मृत्यु भएको र अर्का एकजना अन्यत्र गापामा कार्यरत रहेकाले आठजना आन्दोलनमा थिए। उनीहरूको ठाउँमा गापाले अन्य स्वास्थ्यकर्मीहरूलाई बहाल गरेको भन्दै म्याद थप नभएको एक वर्षपछि स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन्। गापाभित्रको विवाद मिलाउन जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच बैठक भए पनि बैठक सार्थक हुन नसक्दा तालाबन्दी कायम छ। यसले गापाबाट प्रदान गरिने सेवाहरूबाट स्थानीय सेवाग्राही वञ्चित भएका छन्।