• राजेन्द्रप्रसाद कोइराला

कुनै पनि देशमा जनविद्रोह त्यत्तिकै हुँदैन। राज्यले जब दमन र विभेदको पराकाष्ठा नाघ्छ, विद्रोह अवश्यम्भावी हुन्छ। २००७ सालदेखि २०६२–६३ को जनान्दोलन हुँदै मधेस विद्रोह हुनुको कारण नै सामाजिक अन्याय, शोषण, अत्याचार, सामाजिक विभेद र नातावाद र कृपावाद हो। 

दोस्रो विश्वयुद्धको समाप्तिपछि नै विश्वका धेरै मुलुकमा जन विद्रोहको बलमैं सत्ता परिवर्तन मात्र हैन, मुलुकले काँचुली फेरेको दृष्टान्त हामीले अनुभव र अवलोकन गरेकै छौं। 

संसारमा कुनै पनि बेला जे पनि हुन सक्छ भनेको ठ्याक्कै हो रहेछ। कसले सोचेको थियो होला अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, निकट रहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवारलाई ज्यान मार्ने उद्देश्यले कसैले गाली हान्छ, गोली कानको टुप्पोमा मात्रै लाग्छ, रगत बग्छ तर उनको ज्यान जोगिन्छ। यस्तो घटनाको अनुमान कसैले गरेको थिएन। भन्नलाई एक व्यक्तिले भविष्यवाणी गरेका थिए, तर गरेकै भए र परिस्थिति मिलेकै भए पनि बाँकी संसारले अन्दाज गरेको थिएन।

२०५८ साल जेठ १९ गते शुक्रवार नेपालको खाना खाएर सुत्ने तर्खर गरिरहेको थियो। रातको दस नबज्दै देशविदेशका टेलिफोनका घण्टीहरू लगातार ट्रिङट्रिङ गर्न थाले। बिहान उज्यालो नहुँदै नेपालको राजपरिवार गोलीकाण्डमा सोत्तर भएको खबर संसारभरि फैलियो। कसले कल्पना गरेको थियो, त्यति सुरक्षित मान्छे र तिनको परिवार एकै खेपमा चट हुन सक्छ ? अपत्यारिलो र बिरलै घट्ने घटना थियो यो। कसैले अन्दाज गर्न नसकेको नेपालको राजनीतिक घटना २०१७ साल पुस १ गतेको पनि हो, जुन दिन संसद् विघटन र सरकार अपदस्थ भएको थियो। ठूलो क्रान्ति भएको होइन, तर २०४६ सालमा सजिलै राजनीतिक व्यवस्था परिवर्तन भयो। 

पञ्चायती शासन व्यवस्था ढल्ने अनुमान कसैले गरेको थिएन। त्यस्तै नेपालजस्तो शान्तिपूर्ण देशमा २०५२ सालमा सरकारविरुद्ध हतियार उठ्यो। हतियार उठाउनेहरू दुनियाँको नजरमा सारै कमजोर थिए, तर दश वर्षकै अन्तरालमा सिङ्गो राज्यसत्ताको सातो उडाए। पछि शान्तिपूर्ण राजनीतिको बाटोमा आयो। त्यो खालको लडाइँको पनि नेपालीले कल्पना गरेका थिएनन्। अर्को झनै कसैले सपनामा पनि नसोचेको घटना भन्नुपर्छ, सात दल र माओवादी संयुक्त आन्दोलन। २४० वर्षे इतिहास बोकेको राजसंस्था नै विस्थापित भयो। यस्ता अप्रत्याशित राजनीतिक घटनाको सामना संसारका हरेक देशले ढिलो–चाँडो बेहोरेकै छन्। यस्तै सन्दर्भमा बङ्गलादेशले पनि दुनियाँमा कसैले कल्पना नगरेको राजनीतिक घटना बेहोर्न पुग्यो। 

बङ्गलादेश जन्मिएको धेरै वर्ष भएको छैन। सन् १९४७ मा भारत विभाजन भएर पाकिस्तान बन्यो। पाकिस्तान जन्मिएको २४ वर्षपछि अर्थात् सन् १९७१ मा पूर्वी पाकिस्तान बङ्गलादेशको रूपमा जन्मियो। अहिले बङ्गलादेशको उमेर ५३ वर्ष पुगेको छ। यो ५३ वर्षमा बङ्गलादेशले पनि अनेकौं समस्या र घटना बेहोर्दै आएको छ। सबैभन्दा डरलाग्दो र कसैले नसोचेको घटना त सन् १९७५ मा शेख मुजिबुर रहमान, जो बङ्गलादेशका प्रथम राष्ट्रपति र पछि प्रधानमन्त्री भए, तिनको परिवारको सामूहिक हत्या भयो। शेख मुजिब, उनकी पत्नी, छोराहरू, ज्वाइँ र अन्य नातेदार त्यो हत्याकाण्डमा मारिए। शेख मुजिबका दुई छोरीहरू शेख हसिना र शेख रेहाना विदेशमा भएका कारण जोगिए।

परिवार सखाप भएपछि शेख हसिना राजनीतिमा प्रवेश गरिन्। राजनीति प्रवेशको २१ वर्षमा अर्थात् सन् १९९६ मा पहिलोपटक बङ्गलादेशको प्रधानमन्त्री बनिन्। अवामी लिग उनको नेतृत्वमा रहेको राजनीतिक दल हो। बङ्गलादेशमा उनको मुख्य प्रतिस्पर्धी बेगम खालिदा जिया हुन्। बेगम खालिदा आफ्ना पति जियाउर्रहमानले जन्माएको बङ्गलादेश नेशनल पार्टी बिएनपीकी प्रमुख हुन्। उनले बङ्गलादेशमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा काम गरिन् भने अहिलेसम्म उनी दुईपटक प्रधानमन्त्री बनिन्। उनको शासनकालमा उनीमाथि आर्थिक भ्रष्टाचारको आरोप लाग्यो। उनी जेल परिन्। पतिको हत्यापछि राजनीतिमा आएकी बेगम खालिदा जिया र पिता शेख मुजिबुर्रहमानको हत्यापछि राजनीतिमा आएकी शेख हसिना वाजेदबीच सधैंभरि राजनीतिक टक्कर भइरह्यो। अवामी लिगले जित्दा शेख हसिना प्रधानमन्त्री बन्ने र बङ्गलादेश नेशनल पार्टी जित्दा बेगम खालिदा जिया प्रधानमन्त्री बन्ने प्रक्रिया शुरू भयो। पालैपालो प्रधानमन्त्री र विपक्षी दलका प्रमुख बने दुई महिला। एशियाली मुलुकहरूमध्ये बङ्गलादेश एकमात्र त्यस्तो देश हो जहाँ केवल दुई महिला शेख हसिना र बेगम खालिदाको हालीमुहाली रह्यो। तर, पछिल्ला केही वर्षमा बङ्गलादेशको राजनीतिमा बेगम खालिदा जिया शेख हसिनाभन्दा पछि परिन्। ठूलै आर्थिक भ्रष्टाचारकाण्डमा मुछिइन् र जेल परिन्। जिया कमजोर भएपछि स्वतः बङ्गलादेश नेशनल पार्टी कमजोर हुन पुग्यो र अवामी लिग अघि आयो। पार्टी नेतृ शेख हसिनाले एकछत्र जित्दै गइन् र पटकपटक प्रधानमन्त्री भइन्।

हसिना बङ्गलादेशकी यतिसम्म प्रख्यात नेतृ हुन् जसको पक्षमा लाख होइन, करोडौं जनताले समर्थन ग–यो र भोट पनि करोडौंमा दियो। यिनले आफ्नो कार्यकालमा ठूला–ठूला कलकारखाना र उद्योगहरू सञ्चालन गरिन्। पुलको हकमा त संसारको लामो र प्रभावकारी पुल बनाएर दुनियाँलाई चकित पारिन्। सम्भव भएसम्म विश्वका अन्य राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध पनि राखिन्, तर कुनै पनि बेला जेसुकै घटना घट्न सक्छ भन्ने कुरा बङ्गलादेशमा पनि लागू भयो। शेख हसिना करोडौं जनताको साथ र समर्थन पाएर पनि केही लाख जनताको निरन्तरको आन्दोलनले देशै छाडेर भाग्ने अवस्थामा पुगिन् र एकसरो कपडा र एउटा ब्याग बोकेर हेलिकप्टर चढिन्। बहिनी रेहानालाई समेत उनले साथमैं लगिन्।

खासमा बङ्गलादेशमा आन्दोलन चर्कनुको वास्तविक कारण यस्तो हो। सन् १९७१ मा शेख मुजिबुर्रहमानको नेतृत्वमा आन्दोलन हुँदा जुन–जुन समुदायका मानिसले साथ दिएका थिए तिनका परिवार र नातापातालाई सरकारी जागीरमा आरक्षणको व्यवस्था गरियो। शेख मुजिबले जुन आरक्षण नीति लागू गरेका थिए, छोरी शेख हसिनाले त्यसैलाई निरन्तरता मात्र दिइनन्, आरक्षणको प्रतिशत अझै बढाइन्। 

प्रारम्भमा विद्यार्थीहरूले यसको विरोध गरे। सामान्य विरोधले काम नगरेपछि शुरू भएको आन्दोलनमा बिस्तारै अन्य पेशा–व्यवसायका मानिससमेत ओइरिए। हेर्दाहेर्दै हजारौंहजार मानिसले सडक भरियो। प्रहरीले रोक्न सकेन। तत्काल १०० र कुल मिलाएर ३०० बङ्गलादेशी नागरिक आन्दोलनका क्रममा मारिएपछि हसिना सरकार आत्तियो। जनता मर्ने क्रम नरोकिएपछि सेनाले हसिना सरकारलाई साथ दिन इन्कार ग–यो। जनता हसिना निवास र कार्यालय नजीकै आइपुग्दा उनले भाग्नुपर्ने अवस्था आयो, कुनै विकल्प देखिएन।

यसरी हसिना नेतृत्वको सरकार बङ्गलादेशमा असफल भयो। अप्रत्याशित र अनौठो घटना भयो, जुन घटनाले असम्भव केही छैन भन्ने कुरा प्रमाणित गर्छ। शासन गर्न अलिकति मात्र चुक भयो कि आन्दोलनको ज्वाला कुनै पनि बेला कुनै पनि रूपमा पनि दन्कन सक्छ। यो वा त्यो देशमा होइन, संसारको कुनै पनि मुलुकमा यस्तो हुन सक्छ। हिटलर, मुसोलिनीलगायत संसारका बडे–बडे शक्तिशालीहरू पनि यस्तै अनुमान गर्न नसकिने घटनाका शिकार भएका हुन्। 

युवाहरूको जमातलाई समयमैं सम्बोधन नगर्दा आज बङ्गलादेशले यो नियति भोग्नुपरेको तथ्य हाम्रा तीन दलका टाउकेहरूले अझै बेवास्ता गरिराखेका छन्। यसको परिणाम भयावह हुन सक्छ। एकजना विद्यार्थीले संसद्भित्र पसेर गरेको विद्रोहले त्यो झलक दिसकेको छ। 

युवामा देशलाई सुन्दर बनाउन र परिमाणमुखी आकार दिने उत्कृष्ट विचार र रचनात्मक ऊर्जा छ । युवाको शक्ति पूरै देशका लागि असामान्य धन हो । युवाको अनुहार नै वर्तमान र भविष्यको अनुहार हो तर देशको भविष्यको अनुहार मानिने र परिवर्तनको संवाहक मानिने नेपाली युवाको अवस्था र सहभागिता भने उत्साहजनक छैन । राष्ट्रिय विकासमा युवा सहभागिता न्यून छ । युवावस्था जीवनको त्यो काल हो, जुन शक्ति र क्षमतासँगै अगाडि बढ्छ । 

युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारलगायत क्षेत्रमा विशेष अवसर प्रदान गर्ने नीति बनाइएको छैन । कतिपय नीति बने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । शिक्षा आर्जनका क्रममा रहेका, रोजगार तथा वृत्तिविकासको अवस्थामा रहेका युवाका मुद्दा तथा प्राथमिकतालाई ध्यान दिइएको छैन । युवाको संवेदनशीलता र जीवनयापनका विविध पक्षलाई नजरअन्दाज गरिएको छ । वैदेशिक रोजगार र अध्ययनका नाममा दैनिक सयौंको सप्राथमिकतालाई ध्यान दिइएको छैन । युवाको संवेदनशीलता र जीवनयापनका विविध पक्षलाई नजरअन्दाज गरिएको छ । वैदेशिक रोजगार र अध्ययनका नाममा दैनिक सयौंको सङ्ख्यामा पलायन हुने युवालाई रोक्न सकिएको छैन । युवालाई देशभित्र टिकाउन प्रशस्त मात्रामा आकर्षक कार्यक्रम तयार गर्न सकिएको छैन । यस सम्बन्धमा न राज्य गम्भीर भएर लागेको छ, न सरकारलाई सुनाउन सक्ने गरी कसैले आवाज बुलन्द गर्न सकेको छ । विदेशिएका सिर्जनशील, प्रतिभावान् र क्षमतावान् युवालाई स्वदेशमैं फर्काउन यथेष्ट प्रयास पनि गर्न सकिएको छैन ।  

यस अवस्थामा नेपालमा पनि ढिलो चाँडो ठूलो विद्रोह हुने सङ्केत देखिइसकेको छ। होशियार देशका पिसाच र धमिराहरू ! अब चाँडै तिमीहरूको पालो आउँदै छ। जय देश, जय मातृभूमि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here