प्रस, वीरगंज, २ भदौ/
प्रतीक दैनिकको ३८ औं वार्षिकोत्सवको अवसरमा शनिवार सुबोध स्मृति पुरस्कार प्रदान गरिएको छ।
वीरगंज महानगर–१५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख तथा प्रमुख अतिथि राजेशमान सिंहले ५१ हजार राशिको सुबोध स्मृति पुरस्कार–२०८१ पत्रकार विमला गुप्ता प्रदान गरेका थिए।
यसैगरी वार्षिकोत्सवको अवसरमा प्रतीक दैनिकसँग आबद्ध पोखरिया संवाददाता धर्मेन्द्र चौरसिया, स्तम्भकार कुमार रूपाखेती, कर्मचारी महम्मद तौरेत हवारीलाई क्रमशः नगद १५, १० र पाँच हजार राशिसहित प्रमाणपत्र नगरप्रमुख सिंह, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष श्याम पोखरेललगायतले प्रदान गरेका थिए।
कार्यक्रममा नगरप्रमुख सिंहले पत्रकारहरूले वीरगंजको विकासमा कलम चलाउनुपर्ने सुझाव दिए। उनले आफ्नो व्यक्तिगत कुरालाई उछालेर बदनाम गराउने काम भएको भन्दै आफूले गरेको गलत कामको विरोध गर्न आग्रह गरे।
उनले आफूले गरेको गलत काम सुधार गर्ने बताउँदै कुनै पनि विकृति, विसङ्गतिविरुद्ध सशक्त आवाज उठाउनुपर्ने र त्यसको लागि तयार रहेको बताए। उनले कुनै पनि गलत काम नगरेको दाबी गर्दै त्यस्तो गरेको भए सम्बन्धित निकायमा उजूरी गरी कारबाई चलाउन सुझाए।
फरक प्रसङ्गमा उनले वीरगंज महानगरलाई छवटै नगरपालिकामध्ये सबैभन्दा कम बजेट दिएर सरकारले हेपेको आरोप लगाए। उनले वीरगंजबाट देशको सबैभन्दा धेरै राजस्व सरकारलाई प्राप्त हुने तर महानगरलाई नै छवटै महानगरमध्ये सबैभन्दा कम बजेट विनियोजन भइरहेको भन्दै दुःखेसो पोखे। उनले कम्तीमा भरतपुर नगरपालिका सरहको पनि बजेट वीरगंजलाई दिनुपर्ने माग गरे। बजेट अभावमा पनि महानगरले थुप्रै विकास निर्माणको काम गर्न नसकेको नगरप्रमुख सिंहको भनाइ थियो। उनले विनियोजित बजेट ल्याउनको लागि पनि सम्बन्धित निकायमा कमिशन टत्र्mयाउनुपर्ने बाध्यकारी अवस्था अन्त्य हुनुपर्ने माग गरे।
नगरप्रमुख सिंहले ज्येष्ठ नागरिक पार्क निर्माणको लागि भारत सरकारले सात करोड विनियोजन गरेको तर सरकारको उदासीनताको कारण सो काम अगाडि बढ्न नसकेको बताए। उनले यसका लागि ज्येष्ठ नागरिक र वीरगंजका पत्रकारहरू जागरूक हुनुपर्ने सुझाव दिए।
नेपाल उद्योग वाणिज्य सङ्घ केन्द्रीय सदस्य सुबोध गुप्ताले पनि वीरगंजबाट सबैभन्दा बढी कुल राजस्वको ४५ प्रतिशत सरकारलाई प्राप्त भइरहेको तर वीरगंजको विकासमा सरकार उदासीन रहेको आरोप लगाए। उनले वीरगंजका उद्योगी व्यवसायीहरूले यहाँको पत्रकारिताको विकासको लागि पहल गर्नुपर्ने सुझाव दिए। पत्रकार र उद्योगी व्यवसायीबीच सहकार्य नहुँदा अहिलेसम्म पत्रकारिताको विकासको लागि उद्योगीहरू अगाडि आउन नसकेको उनको बुझाइ थियो।
उनले आगामी दिनमा उद्योगी व्यवसायी र पत्रकारबीच समन्वयकारी भूमिका विकसित गर्नुपर्ने र त्यसको लागि आफूले पहल गर्ने बताए।
ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले आफ्नो लेखनयात्रा प्रतीकबाट शुरू गरेको २० वर्ष बढी भएको बताए। विभिन्न कालखण्डमा प्रतीक दैनिकले पत्रकारिता पेशालाई मर्यादित गर्ने काममा अग्रसरता देखाउँदै आएको र आगामी दिनमा पनि यसले सोही किसिमको भूमिका निर्वाह गर्नुपर्ने बताए। सोही अवसरमा उनले आगामी वर्षदेखि प्रतीकको वार्षिकोत्सवमा आफ्नो स्व पिता चिरञ्जीवी कोइरालाको नाममा १५ हजार राशिको पुरस्कार थप गर्ने घोषणा गरेका थिए।
ठाकुर राम बहुमुखी क्याम्पसका पूर्वप्रमुख डा उमेश चौरसियाले वीरगंजको पत्रकारितामा प्रतीक दैनिकको छुट्टै पहिचान भएको बताए। उनले प्रतीक दैनिकले सामाजिक रूपान्तरणको लागि संयमपूर्ण तरीकाबाट अहिलेसम्म विभिन्न मुद्दाहरूलाई उठाउँदै आएको बताए।
नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले अनलाइन पत्रकारिताको तुलनामा अहिले पनि लेखन पत्रकारिताको छुट्टै पहिचान रहेको बताए। उनले लेखन पत्रकारिता भविष्यको दस्तावेज हुने तर अनलाइन पत्रिकाहरू भने सो अनुरूपको नभएको बताए। उनले समाचार पस्कने र हटाउने कार्य गरेर अहिले पत्रकारितामा अनलाइनहरूले विकृति देखाएको र यसमा सुधार हुनुपर्ने बताए। कार्यक्रममा स्वागत गर्दै प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले पत्रकारिता नेपालमा विकसित भएको सय वर्ष बढी भयो तर २०४६ सालको आन्दोलनपछि व्यावसायिक पत्रकारिता शुरू भएको बताए। उनले अहिले पनि पूर्णरूपमा नेपाली पत्रकारिता व्यवसायिक हुन नसकेको बताए।
कार्यक्रम प्रतीक प्रकाशन समूहका अध्यक्ष बिन्दु शर्माको अध्यक्ष्Fतामा भएको थियो भने सहजीकरण प्रताप श्रेष्ठले गरेका थिए।