धर्मेन्द्र चौरसिया, पोखरिया, ३२ साउन/
जीराभवानी गाउँपालिका–२ सेढवास्थित आधारभूत अस्पताल चार वर्ष बित्दा पनि अधूरो छ । १० शøयाको अस्पताल निर्माणको लागि पुरानो भवन भत्काएर बनाउन शुरू गरिएको हो ।

आठ करोड लागतमा ओम बुद्ध कन्स्ट्रक्शनले २०७७/७८ मा ठेक्का सकार गरेको थियो । सम्झौता अनुसार २०७९ सालमा आधारभूत अस्पताल निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने थियो तर अहिलेसम्म यो अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्र बनेको छ ।

वडाध्यक्ष महादेव महतोले अस्पताल निर्माणको लागि आफूले बारम्बार ठेकेदारलाई ध्यानाकर्षण गराएको तर भुक्तानी अभावले काम रोकिएको थाहा पाएको बताए । सरकारले अस्पताल निर्माणको लागि छुट्याएको बजेट ठेकेदारलाई भुक्तान नहुँदा काम रोकिएको उनले बताए । अहिले अस्पताल नबन्दा तीन पालिकाका मानिसहरूलाई समस्या भएको छ । यो अस्पतालमा जीराभवानी, जगरनाथपुर र ठोरी गापा–५ का मानिसहरूले स्वास्थ्य सेवा लिंदै आएका थिए । बर्थिङ सेन्टरसहितको आधारभूत अस्पताल अहिले सामुदायिक भवनमा सञ्चालित छ ।

मासिक ५० जना गर्भवती महिलाको उपचार हुँदै आएकामा अहिले सामान्यबाहेक शल्यक्रिया गर्ने कार्य बन्द छ । कोठाको अभावले सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको देखिन्छ ।

स्वास्थ्य चौकी इन्चार्ज ज्ञानकिशोर महतोले सामुदायिक भवनमा कोठा अभावले सेवा प्रदान गर्न समस्या भएको बताए । उनले जेनतेन दैनिक रोगीहरूको उपचार भइरहेको र धेरैजसो रोगी सेवा नपाएर फर्किने अवस्था रहेको बताए ।

यसैबीच, जीराभवानी गापामा आजदेखि छुट्टै बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । सामुदायिक अस्पतालमा गर्भवती महिलाहरूको उपचारमा समस्या भएपछि गापाले अर्को सामुदायिक भवनमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो । वडाध्यक्ष्F महतोले आज नयाँ बर्थिङ सेन्टरको उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here