• राजेन्द्रप्रसाद कोइराला

सबैभन्दा पहिले त प्रतीक दैनिकको ३८औं वार्षिकोत्सवको लागि सम्पूर्ण टीमलाई धेरैधेरै शुभकामना । यत्रो वर्षदेखिको निरन्तरतालाई कायम राख्नु एउटा ऐतिहासिक काम हो । यस पत्रिकाका सम्पादक आदरणीय जगदीश दाइ अब कुनै नाम रहनुभएन, उहाँ एउटा विशेषण भइसक्नुभएको छ । उहाँले पञ्चायतकाल हुँदै आजसम्मका राजनीतिक परिवर्तनलाई सूक्ष्मरूपले अवलोकन मात्रै होइन, विभिन्न व्यवस्थाका कुरूप रूपको भुक्तभोगी पनि हुनुहुन्छ । कस्ताकस्ता कठिन समयमा पनि रतीभर नडगमगाउने विम्ब हुन्, जगदीश दाइ । कहिल्यै कुनै अभाव, दबाब र प्रभावमा नपरी अविच्छिन्नरूपमा आफ्नो यात्रालाई अहिलेसम्म अडिग भएर उभिएको छ, प्रतीक दैनिक । यस पत्रिकाले धेरै लेखक, संवाददाता, कवि, कवियत्री, सञ्चार उद्यमशीलहरूलाई जन्मायो । आज धेरैले आफ्नो करियरलाई ठूलो ठाउँमा पु¥याउन सक्षम भएका छन् ।

मेरो आबद्धता :

यस पत्रिकामा मैले लेख्न थालेको करीब २० वर्ष भएको जस्तो लाग्छ । शुरूमा जब म कुनै आलेख लेख्थें दाइले सीधैं अस्वीकार गर्नुहुन्थ्यो । मलाई खूब रिस उठथ्यो । मेरो सधैं सोध्ने बानीले गर्दा दाइलाई मैले एक दिन सोधें– दाइ, मेरो आलेख किन छापिंदैन ? दाइले सल्लाह–सुझाव दिनुहुन्थ्यो कि के कमजोरी छ ममा । खूब लेखे बल्ल एक दिन छापियो, म त हर्षविभोर भएँ । त्यो पहिलो आलेख अहिलेसम्म मेरो दराजको कुनै कुनामा हुनुपर्छ । त्यसपछिको मेरो निरन्तरता आजसम्म चलिरहेको छ ।

केही समय केही कारणले लेख्न सकिनँ । बीचमा म विदेश भएको बेलामा पनि म निरन्तर लेखिरहन्थे । मेरो लेख्ने कलाको विकास नै जगदीश दाइसँगको सामीप्यताले गर्दा हो । मेरो उच्च सम्मान छ, दाइलाई र प्रतीक परिवारलाई ।

यो भन्न मलाई गर्व लाग्छ कि म आज धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकाहरूमा पनि लेखहरू पठाउँछु । अङ्ग्रेजी र नेपाली दुवैमा लेख्ने गर्छु म । विभिन्न जर्नलहरूमा मेरा आलेखहरू प्रकाशित छन् । यसको सारा श्रेय यस पत्रिकालाई नै जान्छ । लेख्ने बानीले गर्दा खूब पढ्न मनलाग्दो रहेछ । म अहिले पनि कुनै न कुनै पुस्तक प्रत्येक दिन पढ्ने गर्छु । जसले गर्दा मैले केही गीतहरू पनि लेख्ने समय पाएँ । एउटा गीतको त म्युजिक भिडिओ नै बजारमा आइसकेको छ । अरू पाँचवटा गीत आउने क्रममा छन् । धन्य भएँ म कि मैले जगदीश दाइसँग सङ्गत गर्न पाएँ ।

मानिसलाई मनोरञ्जन चाहिन्छ । चाहिंदोभन्दा बढी मनोरञ्जनले मानिसलाई भद्दा, रोगी र बेकम्मा बनाउँछ । समयसमयमा लिइने ठीक्कको मनोरञ्जनका लैबरी भाका हाम्रालागि अमृतमय ऊर्जा हुन सक्छन् । आवश्यकताभन्दा बढी मनोरञ्जन पनि मानिसका लागि विष बराबर हो । ज्ञान त्यो अमृत हो, जो जति ग्रहण गरे पनि अपुग हुन्छ ।

आवश्यकताभन्दा बढी मनोरञ्जन, प्रेमले हिजोआज हाम्रो सिर्जनात्मक क्षमतामा दिनदिनै ¥हास आइरहेको छ । हामी ज्ञानका लागि लाइब्रेरीभन्दा बढी मनोरञ्जनका लागि लैबरी खोज्ने भएका छौं । भर्चुअल दुनियाँमा उपलब्ध मनोरञ्जनका प्रचुर साधनले हाम्रा नियमित काममा पनि ठूलो व्यवधान खडा गरिरहेको छ । समयतालिका गडबडिएका छन् । स्वस्थ र आवश्यक मात्राको मनोरञ्जनले जसरी मानिसलाई मानसिकरूपमा तन्दुरुस्त बनाउँछ, उसैगरी आवश्यकताभन्दा बढी मनोरञ्जनको नशाले मानिसलाई लागूपदार्थको वैकल्पिक काम गरिरहेको छ । पढ्ने संस्कृतिको स्खलनले समाजलाई अहिले उपभोक्तावादले नराम्ररी गाजेको छ । पत्रपत्रिकालाई आफ्नो दैनिकी बनाउन नसक्नु बढो ठूलो विडम्बना हुन पुगेको छ । मानिस भावविहीन हुन थालेका छन् ।

छापा मिडियाका चुनौतीहरू :

सूचना प्रविधिको द्रुत विकासको साथै इन्टरनेट जताततै फैलिएको छ, र स्मार्टफोन र मोबाइल टर्मिनलहरू मिडिया बजारमा लोकप्रिय भएका छन् । मानिसको पढ्ने बानी पनि बिस्तारै परिवर्तन हुँदैछ । नयाँ मिडिया प्लेटफर्महरू जस्तै पिसी, मोबाइल फोनबाट ताजा समाचार जानकारी प्राप्त गर्न अधिक युवाको झुकाव बढेको छ । पत्रिकाहरू किन्नुको साटो ट्याब्लेटहरूको बढ्दो दबदबा छ । परम्परागत छापा मिडियाले कम सर्कुलेशन, कम सञ्चार शक्ति र प्रभाव, साथै कम हुँदै गइरहेको विज्ञापन व्यवसायको सामना गरिरहेको छ, जसले प्रिन्ट मिडियालाई बाँच्नको लागि अभूतपूर्व दबाबको सामना गर्नुपरिरहेको छ ।

दोस्रो, इन्टरनेटको लोकप्रियताको साथ, मानिसहरूले विभिन्न समाचार वेबसाइटहरू र खोज इन्जिनहरूबाट निश्शुल्क जानकारीको ठूलो मात्रा प्राप्त गर्न सक्छन्, जुन प्रिन्ट मिडियाको लागि अझ ठूलो विपत्ति हो । छापा मिडिया पढ्ने बानी सङ्कुचित र क्षयीकरण हुँदै गइरहेको अवस्था छ । पढ्ने बानी घट्दै गएकाले दैनिक पत्रिकाको पाठक सङ्ख्या घट्दै गएको छ । यसरी छापा मिडिया, विशेषगरी पत्रपत्रिकाहरूले सङ्कटको सामना गरिरहेका छन् ।

नयाँ मिडियाको प्रभावको सामना गर्दै, परम्परागत प्रिन्ट मिडियाले रूपान्तरण र स्तरोन्नति, नयाँ मिडियासँग गहिरो एकीकरण, नयाँ प्रविधिको प्रयोग र अन्तमा आफ्नो अस्तित्वको लागि नयाँ बाटो पहिल्याउँदै इन्टरनेटको सहारा लिंदै अगाडि बढ्नु अहिलेको अपरिहार्यता हो, नत्रभने आफूलाई जोगाइराख्न नसकिएला आउँदा दिनमा ।

प्रिन्ट मिडियामा देखिएको यस्तो चुनौतीका बावजूद आफूलाई दरिलो बनाउँदै लगेकोमा प्रतीक दैनिकलाई धेरैधेरै बधाई ।

यस पत्रिकाले ३७औं वर्ष पार गरी ३८औं वर्षमा प्रवेश गरेकोमा सबैभन्दा पहिले मेरोतर्पmबाट धेरैधेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । मोफसलबाट प्रकाशित यो दैनिक पत्रिकाले विभिन्न बाधा र अडचनहरूलाई पार गर्दै ३८औं वार्षिकोत्सव मनाउन गइरहेकोमा समस्त पाठक अवश्य पनि धन्यवादका हकदार छन् । यहाँहरूकै माया, ममता र पत्रिकालाई आफ्नो पत्रिका ठानी यहाँहरूले यसप्रति देखाउनुभएको लगावले गर्दा नै यो पत्रिकाको निरन्तरता सम्भव हुन सकेको हो ।

पत्रकारिताको व्यावसायिकता र जवाफदेहिताको सन्दर्भमा नेपाली समाचार मिडिया छापा र अनलाइन दुवैको मूल्याङ्कन गर्नु महŒवपूर्ण छ । सन् १९९० मा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएदेखि नेपालले सञ्चार क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ र देशव्यापीरूपमा आउटलेटहरूको सङ्ख्या र व्यापक कभरेज बढेको छ ।

नेपालको सञ्चार क्षेत्रले प्रेस स्वतन्त्रता र मिडिया व्यवसायिकताको लागि सङ्घर्षका विभिन्न उतारचढावहरू पार गरेको इतिहास छ । राणा प्रधानमन्त्री जङ्गबहादुरले सन् १८५१ मा इङ्गल्यान्डबाट गिद्धे प्रेस भनेर चिनिने छापाखाना नेपालमा ल्याएर नेपालको राजधानी काठमाडौंमा स्थापना गरेका थिए ।

त्यसपछि दर्जनौं प्रेसहरूलाई देशमा भिœयाएर विभिन्न व्यापारिक घरानाका व्यक्तिहरूले काठमाडौं उपत्यकामा व्यापारिक प्रयोजनका लागि स्थापना गरेका थिए । सन् १९०१ मा सरकारको मुखपत्रका रूपमा गोरखापत्र नामक साप्ताहिक पत्रिका (जो १९६१ मा दैनिक बन्यो) छाप्नका लागि एउटा प्रेस प्रयोग गरियो ।

सन् १९५० र ५१ मा प्रजातन्त्रको सुरुआत भएसँगै छापा मिडियामा नयाँ युगको सुरुआत भएको सङ्केत गर्दै सयौं पत्रपत्रिका सञ्चालनमा आए । सोही वर्ष रेडियो नेपाल, पहिलो रेडियो स्टेशनको स्थापना भयो ।

यसैबीच, धेरै निजी मिडिया व्यवसायीहरूले व्यावसायिक वृद्धि, प्रेस स्वतन्त्रता र सरकारी संयन्त्रहरूबाट सहयोग वृद्धि गर्ने उद्देश्यले २९ मार्च १९५६ मा नेपाल पत्रकार सङ्घको स्थापना गरे, जसलाई हाल नेपाल पत्रकार महासङ्घ भनिन्छ । अर्को वर्ष सरकारले प्रेस नीतिहरू तर्जुमा गर्ने र पत्रकारहरूको आचारसंहिताको पहिलो मस्यौदा तयार गर्ने प्रेस आयोग गठन ग¥यो । एव रीतले सञ्चार क्षेत्रको विकास भएको हामी पाउँछौं ।

सत्यता पत्रकारिताको पहिलो दायित्व हो । सबै नागरिकका लागि वफादार भई सत्यतथ्यलाई जनमानसको सामुन्ने, कुनै डर, धाक, धम्की विना समाचार सम्प्रेषण गर्नु पत्रकारिताको सबैभन्दा ठूलो कर्म र धर्म हो । स्वतन्त्रता अर्काे विशेषता हो । यस्ता विशेषणहरूको समग्रता नै इमानदार पत्रकारिता हो । प्रतीक दैनिकले आज पर्यन्त आफ्नो कर्म र धर्मबाट रतीभर विचलित नभई आफ्नो पत्रकारिताको व्यावसायिक निरन्तरतालाई कायम राख्न सकेकोले नै गर्दा यसले झन्डै चार दशक सफलतापूर्वक सम्पन्न गर्न सकेको हो भन्दा कुनै अतिशयोक्ति नहोला ।

यस पत्रिकाका केही विशेषाङ्कहरू मलाई ज्यादै रुचिकर लाग्छ । शनिवार प्रकाशित हरिकृष्ण बराल र शिवशङ्कर यादवका आलेखहरू, त्यसैगरी विश्वराज अधिकारी, शीतल महतो, ओमप्रकाश खनाल, सञ्जय साह आदिका आलेखहरू । त्यसमा पनि सम्पादकीय त म कहिल्यै छुटाउदिनँ ।

समग्रमा प्रतीक दैनिक नियमित पढ्ने गर्दा हामी समसामयिक घटना र परिघटनाप्रति सधैं अवगत हुन्छौं ।

शुभकामना छ प्रतीक दैनिकलाई अझ बढी माझिने, अझ बढी परिष्कृत हुँदै जनजनमा अमिट छाप छाड्दै जाओस् । सृजनशील रचना, खोजमूलक लेख र सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणले पत्रिकाको ओजलाई अझ खँदिलो बनाउँछ । आशा छ, आउँदा दिनमा यसले यी र यस्ता विषयहरूमा आफूलाई अझै अब्बल बनाउँदै जानेछ । जस्तोसुकै प्रतिकूलता भोग्नुपरे पनि यस पत्रिकाले निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने प्रणलाई कहिल्यै ओझेलमा पार्नेछैन । सधैंझैं लोकतन्त्र, कानूनी राज्य र संवैधानिक मूल्य र मान्यतालाई जीवन्त राख्नेछ ।

अन्त्यमा फेरि यस पत्रिकाको निरन्तरताको शुभकामना दिंदै मेरा शब्दहरूलाई विराम दिन्छु । मुरीमुरी बधाई र नमन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here