प्रस, वीरगंज, ३१ साउन/
वीरगंज महानगरपालिकाले ड्राइपोर्ट–परवानीपुर सडकलाई हरियाली बनाउन वृक्षारोपणलाई निरन्तरता दिएको छ ।
सो सडकखण्डको डिभाइडरमा यस अघि वृक्षारोपण गरी हरियाली बनाइसकेको महानगरले बिहीवार अपौनीतर्पmको सडक डिभाइडरमा वृृक्षारोपण गरेको छ । ड्राइपोर्टदेखि परवानीपुरसम्म सडकको डिभाइडरमा वृक्षारोपण गरी हरित शहर बनाउने लक्ष्य रहेको नगरप्रमुख राजेशमान सिंहले बताए । उनले वृक्षारोपणबाट सडकको सौन्दर्य पनि झल्किने भएकाले वृक्षारोपण अभियान अघि बढाइएको नगरप्रमुख सिंहले बताए ।
यस अघि महानगरले शङ्कराचार्यद्वारदेखि गण्डकसम्मको बाइपास सडकमा वृक्षारोपण गरी हरियाली बनाउने काम गरिसकेको छ । अब बाँकी रहेका सडक डिभाइडर तथा किनारामा वृक्षारोपण भइरहेको उनले बताए ।
जहाँ खाली, त्यहाँ हरियाली लक्ष्यका साथ महानगरले सडक डिभाइडर तथा सार्वजनिक तथा ऐलानी जग्गाहरूमा वृक्षारोपणलाई निरन्तरता दिएको छ ।
वृक्षारोपण कार्यक्रममा म्याङ्गो स्टिक, गुलमोहर, पीपल, समी, अशोक, नीमलगायत विभिन्न प्रजातिका पाँच सयवटा बिरुवा रोपिएको महानगरपालिकाको वातावरण शाखा प्रमुख राकेश जयसवालले जानकारी दिए ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, डिभिजन वन कार्यालयका प्रमुख सुनीललाल कर्ण, प्रहरी निरीक्षक नीता थापालगायतको सहभागिता थियो ।