नरेश यादव, पर्सागढी, ३१ साउन/
पर्सा जिल्लामा रहेका तीनवटा साझेदारी वन उपभोक्ता समितिमध्ये अहिले सबैया साझेदारी वन उपभोक्ता समितिको निर्वाचन हुन सकेको छैन ।
यो वन उपभोक्ता समिति डेढ वर्ष अगाडि अदालतको आदेशमा भङ्ग भएको हो । प्रत्येक तीन वर्षमा निर्वाचनबाट नयाँ पदाधिकारी चयन हुनुपर्नेमा सबैया साझेदारी वन उपभोक्ता समितिले पाँच वर्ष कार्यकाल पूरा गर्दा पनि निर्वाचन गर्न सकेको थिएन, जसविरुद्ध अदालतमा परेको रिटमा अदालतले समिति खारेज गरी नयाँ निर्वाचनबाट पदाधिकारी चयनको आदेश दिएको थियो ।
सबैया साझेदारी वन उपभोक्ता समितिका पूर्वअध्यक्ष लखनलाल साहले निर्वाचनको लागि तयारी पूरा भइसकेको र डिभिजन वन कार्यालयको निर्देशनको पर्खाइमा रहेको बताए । उनले वीरगंज महानगरपालिकाका ३० वटा वडा र पर्सागढी नगरपालिकाका तीन र चार गरी दुईवटा वडा गरी ३२ वटा वडामा प्रतिनिधि छनोट कार्य सम्पन्न भइसकेको बताएका छन् । अधिवेशनको लागि अहिले डिभिजन वन कार्यालयको निर्देशनको पर्खाइमा रहेको उनले बताए ।
डिभिजन वन कार्यालय, पर्साका प्रमुख वन अधिकृत सुनीललाल कर्णले निर्वाचनको लागि नीति नियम बनाउने कार्य भइरहेको बताए । अहिले पर्सा जिल्लामा विन्ध्यवासिनी कोइलाभार वन उपभोक्ता समिति रिजवान अन्सारीको नेतृत्वमा र गादीमाई साझेदारी वन उपभोक्ता समिति सहरूम राउत गद्दीको नेतृत्वमा सञ्चालनमा छन् । सबैया साझेदारी वन उपभोक्ता समिति सञ्चालनमा रहँदा यी दुई वन उपभोक्ता समितिहरूले समयमा निर्वाचन गर्न नसकेको कारण लामो समयदेखि नेतृत्वविहीन थियो ।
अहिले सबैया साझेदारी नेतृत्वविहीन हुँदा यसले प्रदान गर्ने एम्बुलेन्स सेवा पनि प्रभावित भएको छ । पूर्वअध्यक्ष लखनलाल साहले वन उपभोक्ता समितिलाई लक्षित गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका थिए । साझेदारी वन उपभोक्ता समिति खारेज भएसँगै एक वर्षदेखि एम्बुलेन्स सेवा पनि प्रभावित भएको छ ।
एम्बुलेन्सले सेवा नदिंदा त्यत्तिकै थन्काएर राखिएको छ । समिति चलायमान नहुँदा एम्बुलेन्स सेवा अवरुद्ध भएको हो । डिभिजन वन कार्यालय, पर्साका प्रमुख वन अधिकृत कर्णले उपभोक्ता समिति गठन नहुन्जेलसम्म एम्बुलेन्स सेवा सञ्चालनको लागि नीति नियम निर्माण गर्न लागेको बताए । उनले एम्बुलेन्स सेवा चाँडै सञ्चालनमा आउने बताए ।