बङ्गलादेशमा हालै भएको सत्ता परिवर्तनबाट नेपाल पनि अछूतो नरहने तथा नेपालका विद्यार्थीहरू पनि सरकारको विरोधमा सडकमा आउने र देशमा परिवर्तन आउने विमर्श पनि व्यापकरूपमा भएको देखियो । श्रीलङ्कामा आन्दोलन सफल हुँदा पनि नेपालमा यस्तै चर्चा भएको थियो तर केही पनि भएन । बङ्गलादेशमा शेख हसिना लगातार १६ वर्षसम्म सरकारको नेतृत्वमा थिइन्, त्यस कारण जनतामा सत्ताविरोधी आक्रोश देखिएको हुन सक्छ । यद्यपि यसलाई देशीविदेशी षड्यन्त्रको रूपमा पनि हेर्नेहरू धेरै छन् । निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदका पुत्र स्वयंले नै अमेरिकालाई सैनिक अड्डा बनाउन एउटा द्वीप समूह उपलब्ध नगराएको कारण उसले षड्यन्त्र गरेको आरोप लगाएका छन् । आरोप लगाउनेहरूले त पाकिस्तान, धार्मिक इस्लामिक समूह जमाते इस्लामी र विपक्षी नेता बिएनपीका अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री बेगम खालिदा जियामाथि पनि आरोप लगाएका छन् । वर्तमान अवस्थामा शेख हसिना भूतपूर्व प्रधानमन्त्री भइसकेकी छन् र नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई सल्लाहकार परिषद्को अध्यक्ष बनाइएको छ । एक किसिमले उनी अन्तरिम सरकारको प्रधानमन्त्री रहेको मान्न सकिन्छ ।
नेपालमा सत्ता परिवर्तनको खेल प्रत्येक छ/छ महीनामा भइरहन्छ । त्यस कारण अलोकप्रियताको दबाब कुनै एउटा सरकारमाथि रहँदैन । बङ्गलादेशमा यो परिवर्तन विद्यार्थीको विरोधका कारण सम्भव भएको हो तर नेपालका विद्यार्थीलाई राजनीतिमा वर्गीय हितभन्दा दलीय हितको चिन्ता बढी हुन्छ । यहाँका विद्यार्थीहरू पनि दलका कार्यकर्ता भएका छन् । त्यस कारण पनि कडा र सङ्गठित विरोधको सम्भावना यहाँ उत्पन्न नै भइरहेको छैन । नेपाली जनताले प्रत्येक छ/छ महीनामा देशका प्रायः सबैजसो राजनीतिक दलहरूको उपस्थिति अथवा नेतृत्व सरकारमा हेर्दै आएको छ तसर्थ सर्वथा अथवा नयाँ विकल्प देशमा उपलब्ध नै रहेको हुँदैन । नेपाली जनता यथास्थितिको पक्ष्Fधर रहिआएको छ । जे छ, जस्तो छ, त्यो नै राम्रो छ भन्ठानेर सरकारको स्वागत गर्दै आएको छ । समर्थन गर्दै आएको छ । एशियामैं सर्वाधिक कर नेपाली जनतामाथि लादिएको छ तर खुशी खुशी स्वीकार गरेकै छ । राजनीतिज्ञहरूको भ्रष्टाचारलाई पनि यहाँको जनताले स्वाभाविक र आप्mनो नियति नै ठानेको छ ।
बङ्गलादेश विश्वको ३४औं ठूलो अर्थतन्त्र भएको देश हो । गरीबीको रेखामुनि रहेको जनसङ्ख्या १० प्रतिशतमा झरेको छ । आधारभूत विकासका भौतिक पूर्वाधार निर्माणको काम सकेर बङ्गलादेशले विश्वलाई नै चकित पार्ने नौ किलोमिटर लामो पद्मा नदीमा पुल बनाइसकेको छ । तीन किलोमिटर लामो समुद्रमुनिको कर्णफुली सुरुङमार्ग बनाइसकेको छ । ढाकामा मेट्रो रेल निर्माण गरिसकेको छ । आणविक केन्द्र निर्माण गरी ऊर्जामा आत्मनिर्भर बन्न बङ्गलादेश सफल भइसकेको छ । शेख हसिना अझ एक दशक पदमा रहेकी भए बङ्गलादेशलाई विकास मार्गमा अझ उचाइसम्म पु¥याउने थिइन् तर प्रधानमन्त्री शेख हसिनाले आप्mनो पिताजस्तै नियति बेहोर्नुप¥यो । सम्भवतः उनी पलायन गरी निर्वासनमा नगएको भए उनको ज्यानमाथि खतरा पनि हुन सक्थ्यो । त्यसैले बङ्गलादेशमा अहिलेको घटना उपलब्धि हो कि अभिशाप भन्ने प्रश्न उब्जिएको छ ।
बङ्गलादेशमा भएको सरकारविरोधी आन्दोलन क्रान्ति होइन, प्रतिक्रान्ति हो । आर्थिक प्रगति र समृद्धिको दिशामा बढिरहेको देशलाई उल्टो दिशामा लग्नु प्रतिक्रान्ति हो । एउटा कुशल शासकलाई अपदस्थ गरेर अनुभवहीन व्यक्तिलाई सत्तामा पु¥याउनु दूरदर्शिता होइन । बङ्गलादेशको आन्दोलनलाई केवल विद्यार्थीहरूको आन्दोलन मात्रै भन्न सकिंदैन । यसमा व्यापकरूपमा घूसपैठ पनि भएको थियो । विद्यार्थीहरूको आन्दोलनमा अल्पसङ्ख्यक हिन्दूविरोधी नारा लगाइएको थियो । आन्दोलन सफल भएपछि हिन्दूहरूमाथिको उत्पीडन, आतङ्क र आगलागीका घटना झन् तीव्ररूपमा भए । मन्दिरमा तोडफोडका घटना पनि व्यापकरूपमा भए । सल्लाहकार परिषद्का अध्यक्ष महम्मद युनुसले अल्पसङ्ख्यकमाथिको आक्रमण नरोकिए आफू पदबाट राजीनामा दिने धम्की दिनु, तोडफोड गरिएका मन्दिरहरूको पुनर्निर्माणको वाचा गर्नु, अन्तरिम सरकारका गृहमन्त्रीले अल्पसङ्ख्यक हिन्दू र बौद्धसित घटनामा भएका गलतीका लागि सरकारको तर्फबाट क्षमायाचना गर्नुको अर्थ नै बङ्गलादेशमा अल्पसङ्ख्यकहरूमाथि व्यापक मात्रामा हिंसा, तोडफोड र उत्पातका घटना भएको प्रमाणित हुन्छ । रूसी आक्रमणमा युक्रेनी मारिंदा तथा इजरायली आक्रमणमा हमासका आतङ्ककारी मारिंदा शोक व्यक्त गर्ने नेपालका वाम राजनीतिज्ञ, बुद्धिजीवी र विश्लेषकहरूले बङ्गलादेशका हिन्दू र बौद्धमाथि भएका घटनाको विरोधमा एक शब्द पनि खर्च गरेनन् ।