प्रस, जनकपुरधाम, ३० साउन/
सर्लाहीको बलरा नगरपालिका–१ हथिऔलस्थित मनुष्मारा खोलामा डुबेर बुधवार एकजना वृद्धको ज्यान गएको छ भने एक बालिका बेपत्ता छिन् ।
बुधवार बिहान करीब १० बजे घाँस काटेर घरतर्फ फर्किरहेका बालिकाहरू मनुष्मारा खोलामा डुबेको देखेपछि उद्धार गर्न पुगेका वृद्धको डुबेर मृत्यु भएको हो । बालिकाहरूलाई बचाउन भनी खोलामा पसेका बलरा नगरपालिका–१ का ६० वर्षीय गजेन्द्र साहको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
खोलामा डुबेर सोही स्थान निवासी १२ वर्षीया निशाकुमारी गिरी बेपत्ता छिन् । बेपत्ता निशाकुमारीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भएर खोजी गरिरहेका छन् । बेपत्ता बालिका स्थानीय अजय गिरीकी छोरी हुन् । निशासँगै घाँस काटेर फर्किएकी १५ वर्षीया पिङ्कीकुमारी गिरीलाई पनि खोलाले बगाएको थियो । उनी पौडी खेलेर बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।