काठमाडौं, ३० साउन/रासस
नेपाली खेलकूदमा वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने ‘पल्सर स्पोट्र्स अवार्ड’ आगामी भदौमा प्रदान गरिने भएको छ ।
आगामी भदौ २८ गते आयोजना हुने २१औं संस्करणको उक्त अवार्ड विभिन्न १० विधामा उत्कृष्ट घोषित हुने खेलाडीलाई सम्मान गरिने आयोजक नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला, वर्षको उत्कृष्ट युवा, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, टीम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड र एशियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधा रहनेछ ।
उक्त अवार्डका लागि आयोजक मञ्च र गोल्छा समूहबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको छ । आयोजक मञ्चका अध्यक्ष सुवेदी र गोल्छा समूहका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले उक्त अवार्डमा मुख्य प्रायोजकका रूपमा रहने विषयमा हस्ताक्षर गरे । सम्झौता अनुसार गोल्छा समूहले वर्ष खेलाडी पुरुष, महिला, युवा, पिपल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही एक थान मोटरसाइकल पुरस्कार प्रदान गर्नेछ ।
त्यसैगरी, अन्य विधा टीम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट, स्पेशल र पारा एथलिट विधाका विजेताले जनही रु एक लाख पुरस्कार पाउनेछन् । अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशिमा शतप्रतिशत वृद्धि गरिएको मञ्चका अध्यक्ष सुवेदीले बताए । उनका अनुसार यस अघि उक्त विधाका विजेता खेलाडीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।
यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एशियाली खेलकूद पत्रकार महासङ्घ (एआइपिएस, एशिया)को कङ्ग्रेस पनि नेपालमैं आयोजना गर्ने भएको छ । उक्त कङ्ग्रेस आगामी भदौ २५ देखि २८ गतेसम्म हुनेछ । कङ्गे्रसमा एशियाका ३३ देशका खेलकूद पत्रकारको सहभागिता रहने मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिए ।