अहिले सडक दुर्घटना निकै बढेको छ । जे जति जानकारीमा आउँछ, सडक दुर्घटना त्यसभन्दा केही बढी नै हुनुपर्छ । सडक दुर्घटनाको मूल कारण सडकमा हुने भीडभाड नै हो । अहिलेको समयमा पाँच सय मिटर पनि कोही हिंड्न चाहँदैन । कुनै सवारी साधनको सहारा लिन चाहन्छ । घरबाट बजार जानुछ भने रिक्शा खोज्दछन् । यसैगरी आपूmसित सवारी साधन छ भने तुरुन्त सवारी साधन लिएर जाने बानी परिसकेको छ । यसकारण शहरी क्षेत्रमा प्रायः हरेक परिवारमा एकभन्दा बढी सवारी साधन भइसकेको छ । साइकल, मोटरसाइकल र कारसम्म व्यक्तिले प्रयोग गरिरहेको देखिन्छ । बजारमा ई–रिक्सा पनि पर्याप्त चल्दछ । यसरी बजार कस्तो र कत्रो छ, यसमा मुख्य सडकको व्यस्तता निर्भर हुन्छ । अहिलेको प्रवृत्ति यस्तो छ, जति ठूलो शहर त्यति व्यस्त मानिस र जति व्यस्त मानिस त्यति व्यस्त सडक । सडक व्यस्त हुुनुको अर्थ मानिसको हतार हो । जहाँ हतार हुन्छ त्यहाँ सडक दुर्घटना हुनु स्वाभाविक हो । यसैले अहिले सडक दुर्घटना बढेको हुनुपर्छ ।
पहिले एउटा प्रश्न गरिन्थ्यो, सडकमा पहिलो अधिकार कसको ? अर्थात् सार्वजनिक सडकमा पैदल यात्रीको कुनै स्थान हुन्छ कि ? अनि बिस्तारै सडकको पेटीलाई पैदल यात्रीको लागि सुरक्षित मान्न थालियो । अहिले पनि सडकको पेटीमा सबैभन्दा बढी पैदल यात्री हिंडेको पाइन्छ तर कतैकतै यसलाई पसल थाप्ने सुरक्षित स्थानको रूपमा पनि प्रयोग गरिएको पाइन्छ । सडकपेटीलाई पसलको रूपमा उपयोग गर्दा फेरि पनि सडकमा चाप बढ्ने हुन्छ । जहाँ पैदल यात्री सुरक्षित हुनुपर्ने हो त्यहाँ अब पैदल यात्रीलाई सवारी साधनदेखि निकै बढी सतर्क भएर हिंड्नुपर्ने हुन्छ । सम्भवतः कुनै पनि सडक पेटीमा पसल थाप्नु राम्रो मान्न सकिंदैन तर कतिपय अवस्थामा सडकपेटीलाई कतिपयले आप्mनो अधिकार ठानेर हरेक दिन उही स्थानमा पसल थाप्छन् र वास्तवमा जो सडकपेटीमा हिंड्ने हकदार छन् तिनीहरू डराउनुपर्ने अवस्था हुन्छ । सडकलाई आवागमनका लागि सुरक्षित बनाउन सडकपेटीको वास्तविक उपयोग हुनु नै पर्छ ।
सडकमा मानिस वा सवारी साधन एकोहोरो हिंड्दैन, गुड्दैन । दोहोरो आवतजावत भइरहन्छ । ठूला बजार क्षेत्रमा यो अझ घनीभूत हुन्छ । मानिस वा सवारी साधन लाग्दछ सडकमा तरल पदार्थ बगिरहेको छ । अलिकति कुनै अवरोध आउनासाथ सवारी साधन रोकिन्छ र जब सवारी साधन रोकिन्छ तब मानिसलाई निकै छटपटी हुन थाल्छ । कुनै कारणले केही बेर बाटो बन्द हुने अवस्था देखेमा मानिसहरू त्यहाँबाट फर्कने बाटो खोज्न थाल्छन् । त्यहीं बाटो मोडिन चाहन्छन् । अनि समस्या हुन थाल्छ । हरेक मानिसलाई हतारो छ । समयमा पुग्नुछ । यसकारण जाम त सहन चाहँदैनन् तर शहरमा यो बाध्यता हुन्छ । शहरिया बाध्यताले धेरै क्षेत्र प्रभावित भइरहेको हुन्छ । मानौ कतै निरन्तर जाम भइरहन्छ भने त्यसले असर गर्ने क्षेत्र धेरै हुन्छ । हरेक मानिसले बिस्तारै हिंड्नुपर्ने वा गुड्नुपर्ने बाध्यता हुन्छ । तिनको समय त्यतिकै खेर गइरहेको हुन्छ । समय जति मूल्यवान त केही हुँदैन भन्ने कुरो सबैले बुझेकै हुन्छन् ।
अनि निकै महँगो किनेको पेट्रोलियम पदार्थको पनि खर्च भइरहेको हुन्छ । हरेक दिन देशमा जाममा मात्र कति डिजल र पेट्रोल खर्च हुन्छ होला ? कसैले हिसाब गरेको छैन । यसैगरी हरेक दिन जाममा मानिसको कति समय खर्च हुन्छ ? यो पनि कसैले सोचेको छै होला । समय त बाहिरबाट किन्नुपर्दैन तर पेट्रोलियम पदार्थ त किन्नुपर्छ देशले । अनि महँगोमा किनेको पदार्थ त्यत्तिकै जाममा परेर धूवाँमा उडाउनुपर्छ । देशको पैसा यसरी पनि बर्बाद भइरहेको हुन्छ र प्रदूषण पनि बढिरहेको हुन्छ । धेरै बेर जाममा परेको मानिसलाई थाहा हुन्छ, शरीर र मनको के अवस्था बन्छ । यसरी मानिसको स्वास्थ्यमा हानि पु¥याउने, सम्पूर्ण वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा देशले विदेशी मुद्रा खर्च गरेर किनेको महँगो पेट्रोलियम पदार्थको उपयोग हुन नपाउने जामको विकल्प खोज्नैपर्छ । जामको एउटा ठोस विकल्प अहिलेदेखि नै खोज्नु आवश्यक छ । अहिलेको समयको माग पनि हो, यात्रा जाममुक्त हुनुपर्छ । समय बचाउने किसिमको यात्रा हुनुपर्छ ।
सडकलाई सुखद यात्राको साधन बनाउन एउटा विकल्प हो लेनयुक्त सडक । अर्थात् हरेक सडक आफैंमा लेन हुनुपर्छ । यदि एउटा सडकको बीचमा डिभाइडर राख्न वा स्थायी डिभाइडर बनाउने ठाउँ छैन वा सडक साँघुरो छ भने त्यसलाई एकतर्फी बाटो घोषणा गर्नुपर्छ । एकतर्फी बाटो भयो भने मानिसलाई अगाडिबाट कोही आउँदैन भन्ने हुन्छ र समयको बचत हुनेगरी सवारी साधन चलाउन पाउँछ । यदि सडक कुनै पनि हालतमा एकतर्फी गराउन सकिने छैन भने साँघुरो सडकलाई पनि पहिले एकातर्फबाट सवारी साधन जाने समय निर्धारण गर्नुपर्छ । एक घण्टा यताबाट र अर्को एक घण्टा उताबाट । अनि उक्त समयको परिपालन गर्न स्थानीयलाई सिकाउनुपर्छ, बानी पार्नुपर्छ । ट्राफिक प्रहरीले एकदम कडाइ गर्नुपर्छ । यस किसिमको अभ्यासले सर्वसाधारणमा बिस्तारै सचेतना आउँछ र समयको परिपालन गर्ने बानी विकसित भएर दुर्घटना कम हुने तथा सबैको समय पनि बचत हुन्छ ।
अब जति सडक निर्माण हुन्छ, त्यसमा लेन छुट्याउनैपर्छ । चालू अवस्थाको सडकमा यदि लेन छुट्याउन मिल्छ भने गरिहाल्नुपर्छ । लेन छुट्याएपछि यताबाट उता र उताबाट यता गर्न पाउने हुँदैन । हो, क्रसिङ हुने ठाउँमा चाहिं घुम्न पाउँछ । मज्जाले सवारी साधन चलाउन पाउने तथा जाम पनि नहुने लेनको विकास गर्नु उचित देखिन्छ । अहिले जसरी युवाहरूले सडकमा मोटरसाइकल हुँइकाउँछन् र जसरी कारको गति राख्छन्, यिनीहरूले पनि सडकको सुरक्षाको माग गरिरहेका हुन्छन् । अनि लेनयुक्त सडकको व्यवस्था र व्यवस्थापन हुन सकेमा निस्सन्देह ट्राफिक प्रहरीको काम पनि कम हुन्छ । सडक दुर्घटना कम हुन्छ भने ट्राफिक प्रहरीको लोड केही कम हुन जाँदा अन्य काममा ध्यान दिन सजिलो हुन्छ । सडक सुरक्षाले ट्राफिकको सम्मानमा वृद्धि हुन्छ । मुख्य कुरा त मानिसलाई घाउचोट लाग्नेजस्ता समस्या मा न्यूनता आउँछ । सडकमा लेन व्यवस्थापन अहिलेको जल्दोबल्दो आवश्यकता भइसकेको छ ।
सडक सुरक्षा कसलाई नचाहिएको होला ? माथि नै भनिएको छ, सवारी साधन नभएको घर छैन । घरको कुराभन्दा पनि बजार क्षेत्रमा व्यक्तिको हकमा हरेक व्यक्तिसित सवारी साधन छ ।
वर्तमान समयमा अगाडिबाट, पछाडिबाट, दुवै छेउबाट कहिले कुन सवारी साधन कतिको गतिमा आइपुग्छ भन्ने निश्चित हुँदैन । यस अवस्थामा चालक मोबाइल फोनमा व्यस्त छ भने बढी भीडभाडमा दुर्घटना निम्तिने सम्भावना हुन्छ । यस अवस्थामा यदि लेनयुक्त सडक हुन्छ भने यस किसिमको दुर्घटना कम हुन्छ ।
हुनत लापरवाही जुनसुकै ठाउँमा पनि हुन सक्छ । लापरवाहीको कुनै निश्चित क्षेत्र हुँदैन । आजभोलि रिल बनाउने वा सानो भिडियो बनाउने चक्करमा युवाहरू सडकमा अनेक स्टन्ट गरिरहन्छन् । स्टन्टले पनि दुर्घटना बढाउँछ । यी र अन्य कारणले गर्दा सबै सडक लेनयुक्त वा लेनको नियमानुसार चल्ने भइदिने हो भने पनि दुर्घटना कम हुन्छ । यसबाट अन्य फाइदा प्नि हुन्छ । हरेक वर्ष सबारी साधन बढिरहेको सन्दर्भमा सडकलाई अझ साँघुरो हुन नदिने र भविष्यमा जाम अझ बढ्न सक्ने सम्भावनालाई विचार गरेर लेनको विकास गाउँदेखि बजारसम्म गर्नुपर्छ । लेनका पनि केही सीमा छन् तर यसको विकासले सडकको मर्यादा नै बढ्छ । सडक दुर्घटना कम हुँदा समाज र देशको मान पनि बढ्छ । यो धेरै खर्चिलो पनि हुन्न । केही दिनमा सर्वसाधारणले लेनमा चल्न पनि सिक्छन् । समाजलाई सभ्य बनाउने दिशामा अग्रसर गराउन यो आवश्यक छ ।