बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नगरप्रमुख र वडाध्यक्षबीच घम्साघम्सी भयो । यता पर्साको कालिकामाई गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरूले तालाबन्दी गरिदिएका छन् । यहाँ कर्मचारी आन्दोलनमा जनप्रतिनिधिहरूबीचको मनमुटाव एवं बेमेल छताछुल्ल सडकमा पोखिएका छन् । यसो त अपवादबाहेक अधिकांश पालिकाका समस्या उस्तै छन् । जनप्रतिनिधिहरूबीच समूह–उपसमूह, गुट–उपगुट अनि मनमुटाव देखिन्छ । स्थानीय तह अर्थात् पालिकाहरूमा जनप्रतिनिधिहरूबीचको मनमुटावले विभिन्न समस्याहरू देखिएका छन् । मुख्यतः योजना र विकास निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । जसका कारण आधारभूत संरचना, शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रको प्रगतिमा अवरोध छ । प्रतिनिधिहरूबीचको असहमतिले नागरिकका लागि अति आवश्यक सेवाहरू समयमा र प्रभावकारीरूपमा प्राप्त नहुन सक्छ । स्थानीयस्तरका वास्तविक समस्याहरू समाधान गर्नेभन्दा पनि एक पक्षले समाधान खोज्दा अर्को पक्षले झन् उछाल्ने, अल्झाउने र लम्ब्याउनेतर्फ लाग्छन् । एक पक्षले जस पाएको अर्को पक्षले हेर्न सक्दैन । यसले स्थानीय बासिन्दाहरूलाई थप कठिनाइ भोग्नुपर्ने हुन्छ ।
पालिका आफैंमा एउटा सरकार हो, यसले आफ्नै स्रोत, विधिविधानमा रहेर नागरिकलाई सेवाप्रवाह गर्ने हो । तर जनप्रतिनिधिहरूबीचमा नै मनमुटाव हुँदा नीतिगत कामहरूमा एकमत हुन सकिंदैन । जनप्रतिनिधिहरूबीचको मनमुटावले समाजमा असन्तुलन र तनाव उत्पन्न गर्न सक्छ, जसले सामाजिक एकता र समृद्धिमा समेत नकारात्मक असर पर्छ । पालिकामा लागू हुने वा भएका आयोजना र योजनाहरू पूर्ण गर्न कठिनाइ हुन्छ । यसो हुँदा पालिका र जनप्रतिनिधिप्रतिको सार्वजनिक विश्वासमा कमी आउनेछ । जसले स्थानीय प्रशासनको प्रभावकारिता र स्थिरता प्रभावित हुन पुग्छ भने पारदर्शिता र जवाफदेहिता हराउँछ । जसले जनप्रतिनिधिहरूको कार्यसम्पादन, निगरानी र मूल्याङ्कनमा समस्या हुन सक्छ ।
पालिकाहरूमा जनप्रतिनिधिहरूबीच मनमुटाव हुनुमा विभिन्न कारणहरू छन् । मुख्यतः वैचारिक आस्थामा फरक पर्नाले हो । फरक आस्थाका कारण राजनीतिक दल वा समूहहरूको बीच एकै घटनालाई हेर्ने तरीका अर्थात् दृष्टिकोण फरक बन्न जान्छ । जसले मनमुटाव उत्पन्न हुन्छ । अर्को रह्यो शक्ति शक्तिको दबाब । स्थानीय तहमा विभिन्न स्तरका भित्री वा बाहिरिया शक्तिको प्रभाव हुन सक्छ । त्यस्ता शक्तिले जनप्रतिनिधिहरूलाई प्रभाव वा दबाबमा राख्न खोज्ने हुँदा त्यहाँ जनप्रतिनिधिहरूबीचमा मनमुटाव सृजना भइदिन्छ । वित्तीय विवाद, बजेटको वितरण, आर्थिक प्राथमिकताहरू र वित्तीय व्यवस्थापनमा असहमतिहरू मनमुटावका प्रमुख कारण हुन सक्छन् । संसाधनको उचित वितरणमा विवाद हुँदा समस्या उत्पन्न हुन्छ । कतिपय अवस्थामा जनप्रतिनिधिहरूबीच व्यक्तिगत लाभ र महŒवाकाङ्क्षाका कारण पनि मनमुटाव शुरू भएका छन् । स्थानीय प्रशासन सञ्चालन तथा नीति निर्माण प्रक्रियाबारे आवश्यक ज्ञान र शिक्षाको अभावले पनि जनप्रतिनिधिबीच मनमुटाव हुने गरेका छन् । किनभने ज्ञानको अभावमा बुझाइ नै फरक पर्न जान्छ । स्थानीय तहमा विवाद र निकम्मापनले स्थानीय नागरिकमा असन्तोष र अस्थिरता पैदा गर्ने हुँदा यसले सङ्घीय प्रणालीप्रतिको जनविश्वासलाई धूमिल पार्नेछ । यसतर्फ पालिका प्रतिनिधिको समयमा चेत खुल्न जरुरी छ ।