प्रस, पोखरिया, २९ साउन/
हुलाकी सडक अन्तर्गत जगरनाथपुर गाउँपालिकाको गङ्गोल नदीको खोलामा बनेको पुलको अवस्था जीर्ण बन्दैछ ।
हुलाकी सडक निर्माणको क्रममा बनेको यो पुल बारम्बार बिग्रिरहेको र यसको मरम्मतसम्भारमा सरोकारवाला पक्षले खासै ध्यान नदिंदा दुर्घटनाको सम्भावना बढ्दै छ । एक वर्ष अघि पुलको विभिन्न स्थानमा खाल्डो परेको थियो । यसको मरम्मतसम्भार गरिएको भएपनि अहिले केही महीनादेखि पुनः पुलको तीनवटा ठाउँमा खाल्डो भएको छ । ढलान फुटेर छ इन्चसम्म खाल्डो भई छड देखिने अवस्थामा पुगिसक्दा पनि स्थानीय पालिका र सडक विभागले यसमा चासो देखाएको छैन ।
गङ्गोल नदीको पुलमा रहेको खोलाले पटेर्वासुगौलको मनिहर्वा र जगरनाथपुरको सुपुरलाई जोड्छ ।
अहिले खाल्डो भएको ठाउँलाई मरम्मत गरिएको छैन र यसो नगर्दा दुर्घटनाको सम्भावना बढेको स्थानीय बताउँछन् ।