प्रस, जनकपुरधाम, २९ साउन/

मधेस प्रदेशका सबै राज्यमन्त्री हटाइएका छन् । प्रदेश सरकारबाट  आठजना राज्यमन्त्रीलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार जनाएको छ ।

मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका आठजनै राज्यमन्त्रीलाई हटाएका हुन् । पहिलेका तीनजना र हालै एक साता अघि नियुक्त भएका पाँचजनासमेत आठजना राज्यमन्त्रीलाई हटाउन मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलवार पत्र पठाएका हुन् । २० सदस्यीय जम्बो मन्त्रिमण्डल भएपछि चौतर्फी विरोध आएको हुँदा सरकारमा सहभागी सबै दलको सहमतिमा राज्यमन्त्रीहरूलाई हटाइएको मुख्यमन्त्री निकट स्रोतको भनाइ छ ।

इतिहासमैं ठूलो मन्त्रिमण्डल बनाएको भन्दै प्रदेश सरकारको चौतर्फी  आलोचना शुरू भएको थियो । एक साताअगाडि मात्र प्रदेश सरकारले पाँचजना राज्यमन्त्री थप्दै राज्यमन्त्रीको कुल सङ्ख्या आठजना पु¥याएको थियो ।

प्रदेश सरकारले एक साता अघि बितेको मङ्गलवार मन्त्रिपरिषद् विस्तार गर्दा थप गरेका पाँचजना राज्यमन्त्रीमा रामबाबू यादव, शम्भु साह, महमद जैद आलम, रेखा ठाकुर र नीलमकुमारी रजक थिए भने यस अघि नै नियुक्त तीनजना राज्यमन्त्रीमा केशव राय, शारदादेवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग थिए । हटाइएका राज्यमन्त्रीमा नेकपा

(एमाले)का तीनजना, नेपाली काङ्ग्रेसका दुईजना, जनमतका दुईजना र लोसपाका एकजना राज्यमन्त्री थिए । २० सदस्यीय जम्बो मन्त्रिपरिषद्बाट आठजना हटाइएपछि मधेस प्रदेश सरकारको अब १२ सदस्यीय मन्त्रिपरिषद् छ । जसमा काङ्ग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एकजना मन्त्री छन् ।

पछिल्लोपटक राज्यमन्त्री थप गरिएपछि चौतर्फी विरोध हुन थाल्दा मुख्यमन्त्री सिंहको पार्टी जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो । सत्तासाझेदार दलमध्येका नेपाली काङ्ग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले

पार्टीको केन्द्रीय समिति बैठकमा मन्त्रिपरिषद् विस्तारको आलोचना गरेका थिए ।

मधेसको प्रमुख प्रतिपक्षी दल जसपा नेपालका युवा विद्यार्थीहरूले प्रदेश राजधानी जनकपुर केन्द्रित चरणबद्ध विरोध प्रदर्शनको कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

स्थितिलाई मध्यनजर गर्दै मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई पदबाट राजीनामा दिन आग्रह गरेका थिए । सो अनुसार नेकपा (एमाले) का तीनजना राज्यमन्त्रीले सोमवार राजीनामा बुझाएका थिए । राजीनामा दिन बाँकी रहेकाहरूलाई सम्बन्धित पार्टीको

केन्द्रीय नेतृत्वसँग परामर्श गरेर मङ्गलवार राजीनामा गराएको मुख्यमन्त्रीको सचिवालय सदस्यहरूले बताएका

छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here