हरेक अगस्तमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आइएको छ । यस वर्ष पनि युवा दिवस मनाइयो । सो अवसरमा हाम्रो मुलुकले पनि केही औपचारिक कार्यक्रम सकायो । कतिपय मुलुकहरूमा युवासँग सम्बन्धित सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेका छन् । संयुक्त राष्ट्रसङ्घले सन् १९९९ मा यो दिवसलाई औपचारिक मान्यता दिएको थियो । हाम्रो मुलुकले सन् २००३ देखि यो दिवस मनाउन थालेको हो । यसको प्रमुख उद्देश्य विश्वभरका युवाहरूको आवाजलाई बुलन्द गर्नु साथै युवाहरूको क्षमता र सामथ्र्यलाई पहिचान गरी तिनलाई सामाजिक, आर्थिक र राजनीतिक विकासमा सक्रिय बनाउनु हो । दिवसको अवसरमा गरिने क्रियाकलाप तथा कार्यक्रमहरू युवाका समस्याहरूलाई पहिचान गर्ने, समाधानका उपाय खोज्ने र सम्बोधन गर्नेतर्फ केन्द्रित हुनुपर्ने हो । यसले युवा सशक्तीकरणको महŒवलाई पनि बुझाउन र प्रचारप्रसार गर्नमा केन्द्रित हुनुपर्छ । हामीकहाँ जेनतेन दुई/चार वटा औपचारिक कार्यक्रम सम्पन्न गरिए पनि त्यस्ता कार्यक्रमहरू लक्ष्य र उद्देश्यतर्फ केन्द्रित पाइँंदैन ।

“दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि“ यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको लागि नेपालको नारा थियो । यस नाराले दिगो विकास लक्ष्यहरूमा प्रगति गर्न र समृद्धि हासिल गर्न डिजिटल प्रविधिको प्रयोगमा युवाहरूको पहुँच बढाउनुपर्ने आवश्यकतालाई प्राथमिकता दिएको छ । हाम्रो मुलुकमा दिवसको सन्देश, लक्ष्य र उद्देश्यको गम्भीरतालाई बुझ्नेभन्दा पनि सांस्कृतिक र औपचारिक कार्यक्रममा सीमित राखिने चलन छ । यसले वास्तविक समस्यासँग लड्नका लागि आवश्यक बाटो तय गर्न र ठोस कदम चाल्न सक्दैन । औपचारिक कार्यक्रमहरू त केवल देखावा गर्ने र निर्धारित बजेट सकाउनमा मात्रै सीमित रहन्छ । नेपालको युवा जनसङ्ख्या ठूलो छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत अर्थात् एक करोड २४ लाख १२ हजार १७३ छ । यो युवाशक्तिले देशको भविष्य निर्माणमा महŒवपूर्ण भूमिका खेल्न सक्छ । यतिबेला नेपाली युवाको मुख्य समस्या रोजगारविहीन हुनु हो । स्वदेशमा रोजगार र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारका लागि विदेशिने गरेका छन् । विदेशिएकाले पनि अदक्ष अर्थात् कम परिश्रममा गा¥हो काम गर्न विवश छन् । सरकारले युवा लक्षित केही रोजगार कार्यक्रम ल्याएकोमा प्रभावकारी कार्यान्वयन छैन । रोजगार र उद्यमशीलता भनाइमा मात्रै सीमित छ ।

लक्ष्यप्राप्तिका लागि केन्द्रीय समस्याहरू र सुधारका सम्भावित पाइलाहरूतर्फ अग्रसरता जरुरी छ । पहिलो कुरा मुलुकमा शिक्षाको पाठ्यक्रम र गुणस्तर सुधार अति आवश्यक छ । हाम्रो शिक्षा प्रणाली व्यावसायिक र प्राविधिक शिक्षा साथै व्यावहारिक दक्षता हासिल गराउने किसिमको हुनुपर्छ । यसले युवालाई रोजगारका अवसरहरूको लागि तयार बनाउँछ र उद्यमशीलतातर्फ प्रोत्साहन गर्छ । युवालाई स्वरोजगार बन्ने वातावरण तयार गर्ने किसिमको नीति र योजनाहरू तय गर्नुपर्छ, जसकोे प्रभावकारी कार्यान्वयनतर्फ राज्य लागिपर्नुपर्छ । त्यसैगरी, राजनीतिक सहभागिता र नेतृत्वमा युवाको समावेशी सहभागितातर्फ ध्यान दिनु जरुरी छ । युवाको समग्र उत्थान र राष्ट्रनिर्माणका लागि ठोस कदम चाल्न जति विलम्ब भयो, मुलुकको प्रगतिमा त्यति नै विलम्ब हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here