कीर्तिपुर (काठमाडौं), २८ साउन/रासस
त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरूले सहकार्य शुरू गरेका छन् ।
रङ्गशालाको स्तरोन्नतिको काम अघि बढाउन आइतवार सम्बद्ध मन्त्रालयहरू, त्रिवि र राष्ट्रिय खेलकूद परिषद्का प्रतिनिधिबीच छलफल भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव टङ्क घिसिङले जानकारी दिए । छलफलमा आवश्यक नीतिगत र भौतिक काममा समन्वय गर्ने सहमति भएको छ ।
नवगठित सरकारको पहिलो निर्णयका रूपमा मन्त्रिपरिषद्ले गत असार १३ गते आगामी तीन सय दिनभित्र त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने निर्णय गरेको थियो । क्रिकेट मैदानमा प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णयमा उल्लेख छ । “सो निर्णय अनुसारका संरचना निर्माण गर्न त्रिवि, राखेप र शिक्षा, अर्थ तथा शहरी विकास मन्त्रालयबीच समन्वय गर्नुपर्ने भएकाले संयुक्त बैठक गरेर अघि बढेका हौं,” सदस्यसचिव घिसिङले भने ।
उनका अनुसार रङ्गशालामा फ्लडलाइट निर्माण गर्न यस अघि ‘टेन्डर’ गर्ने निर्णय भएको थियो । सो टेन्डरबारे सार्वजनिक खरीद पुनरावलोकन समितिमा निवेदन परेका कारण प्रक्रिया स्थगित भएको हो । उक्त समितिबाट निर्णय आएपछि काम अघि बढ्ने उनले बताए । यसैगरी, प्यारापिट निर्माण गर्न गुरुयोजना तयार भएपनि ठूलै बजेट आवश्यक भएकाले शहरी विकासमार्फत योजना सञ्चालन गर्ने तयारी छ ।
रङ्गशालाको स्तरीकरणका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट एशोसिएशन (क्यान)बीचको जग्गा भाडा सम्झौतासमेत नवीकरण गर्नुपर्ने अवस्थामा रहेको सदस्यसचिव घिसिड्ढो भनाइ छ । त्रिविको आन्तरिक रङ्गशालाका रूपमा रहेको उक्त मैदान २०५२ सालमा २५ वर्षका लागि क्यानले भाडामा लिएको थियो । त्यसको नवीकरण र अब बन्ने संरचनाका लागि त्रिविको सहमति आवश्यक हुने उनले बताए ।
बैठकमा सहभागी त्रिवि रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले संरचना निर्माणका लागि त्रिविले गनुपर्ने नीतिगत एवं व्यावहारिक निर्णयहरू शिक्षा मन्त्रालयबाट भएको पत्राचारका आधारमा गर्ने जानकारी दिए । त्रिविको जग्गा भाडासम्बन्धी विषय त्रिवि सभाले निर्णय गर्नुपर्ने बताउँदै उनले हाल त्रिविको जग्गाको उपयोग सम्बन्धमा प्रश्न उठिरहेकाले जग्गासम्बन्धी विषय संवेदनशील भएको उल्लेख गरे ।
क्यानका सचिव एवं पूर्वराष्ट्रिय कप्तान पारस खड्काले प्रधानमन्त्रीको निर्देशनसहित राज्यकै उच्च प्राथमिकतामा परेका कारण यसपटक क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रियस्तरको बन्नेमा आफू आशावादी रहेको बताए । “देशमा एउटा ठूलो क्षमताको र स्तरीय रङ्गशालाको आवश्यकता धेरै अघिदेखि महसूस भएको हो । त्यसका लागि अहिले सरकारले प्राथमिकतामा राखेको छ, यो सकारात्मक छ,” उनले भने ।