प्रस, वीरगंज, २७ साउन/
कालिकामाई गाउँपालिका कार्यालयमा करारमा काम गरिरहेका १० जनालाई गत वर्ष हटाइएकामा उनीहरूले प्रदर्शन जारी राखेका छन् ।
धर्ना दिने आठैजना स्वास्थ्य शाखामा कार्यरत करारका कर्मचारी हुन् । उनीहरूलाई पालिकाले आवश्यकता नभएको भनेर गत वर्ष करार थप गरेको थिएन । सोही बखतदेखि आन्दोलित स्वास्थ्यकर्मीहरूले पालिकाको गेटमा आठ दिनदेखि धर्ना दिंदै आएका छन् । उनीहरूको आन्दोलनप्रति आज नेपाली काङ्ग्रेस र नेकपा एमालेले ऐक्यबद्धता जनाएका छन् । एमाले कालिकामाई कमिटीका सचिव विजय साह गोढ, नेपाली काङ्ग्रेसका पालिका सचिव रामानन्द ठाकुरले विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र म्याद थप गर्न चेतावनी दिएका छन् । उनीहरूले म्याद थप नगरे साउन २९ गतेदेखि पालिकाको सम्पूर्ण काम ठप्प गर्नेगरी आन्दोलन गरिने बताएका छन् ।
एमाले, काङ्ग्रेससँगै पालिका उपाध्यक्ष राजमती देवी, वडाध्यक्षहरू सञ्जय पटेल, सोनालाल चौरसिया, सञ्जय साहलगायत बहुमत सदस्यहरूले हस्ताक्षर गर्दै कर्मचारीहरूको म्याद थप गर्न आग्रह गरेका छन् ।
आन्दोलनरत कर्मचारीहरूनिर पुगेर उनीहरूले धर्ना दिंदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका र करार अवधि थप गर्न माग गरेका थिए । आन्दोलनरत स्वास्थ्यकर्मी कर्मचारीहरू विगत नौ वर्षदेखि पालिकामा करारमा कार्यरत थिए । हटाइएका १० जनामध्ये एकजनाको मृत्यु भइसकेको छ भने एकजना अन्य पालिकामा सरुवा भएका छन् । अहिले धर्नामा आठजना कर्मचारी आठ दिनदेखि निरन्तर सक्रिय छन् ।