प्रस, वीरगंज, २७ साउन/

भौतिकवादी समाज नेपालको प्रथम बारा जिल्ला भेला जीतपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा शनिवार सम्पन्न भएको छ ।

भेलामा अध्यक्ष बैधनाथ श्रमजीवीले आजको युग विज्ञान र प्रविधिको युग भएकोले अन्धविश्वास, रूढीवाद र पाखण्डमा लाग्नु मूर्खता भएको बताए । उनले मानिस तर्कशील, विवेकशील, मानववादी र प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिए । अध्यक्ष श्रमजीवीले नेपाल र भारत जस्ता देश अझै पनि विकास गर्न नसक्नुको कारण विज्ञानमुखी चिन्तन शिक्षा र समाजमा हाबी हुनुभन्दा पनि अन्धविश्वास र रूढीवाद हाबी भएको बताए ।

कार्यक्रममा कोषाध्यक्ष तथा बारा जिल्ला इन्चार्ज उमेश साहले हाम्रो जीवनशैली अब भौतिकवादी हुनुपर्ने र सबै कुरामा प्रश्न गर्ने बानीको विकास गर्नुपर्ने बताए ।

रौतहटका भौतिकवादी विनोद काफ्लेले समाजभित्र अन्धविश्वास समाप्त पार्न हामीले बढीभन्दा बढी विज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको तथा आफ्नो जीवनकालमा आफैंले भौतिकवादी जीवनशैली अपनाए मात्रै समाजमा अन्धविश्वास समाप्त हुने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, विदुर खड्का, आसमहमद अन्सारी, नीरज साह, सौरभ चौगाईं, राम साह, शिवरात्रि चौधरीलगायतले विचार राखेका थिए ।

भेलाले सन्दीप चौधरीको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्ष आसमहमद अन्सारी, सचिव नीरज साह, कोषाध्यक्ष अनीता चौधरी तथा सदस्यहरूमा राम साह, सौरभ चौगाईं, बिदुर खड्का, शिवरात्रि चौधरीलगायत छन् ।

भेलाले सर्वसम्मतिबाट जयराम दाहाल र राजन पौडेललाई सल्लाहकारमा चयन गरेको छ । कार्यक्रमको सञ्चालन अध्यक्ष श्रमजीवीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here