नरेश यादव, पर्सागढी, २७ साउन/
नेपाली काङ्ग्रेस पर्सागढी नगर पालिकाले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रममा मन्त्री चौरसियाले कानून सबैको लागि बराबर रहेको बताए । उनले कानूनमा सबै तहतप्काका मानिसको समान पहुँच रहनेमा आपूm सचेत रहेको बताए । पहुँचवाला र धनाढ्य व्यक्तिको जति पहुँच भएपनि सर्वसाधारण जनता न्यायबाट वञ्चित नहुने जिकिर गरे । नेपाली जनता समान कानूनी हकका अधिकारी भएको पनि उनले बताए ।
उनले कतिपय कुरा कानून बनाउने क्रममा छुटेका र कतिपय हटाउनुपर्ने रहेका बताए । उनले सबैभन्दा संवेदनशील मन्त्रालय आफूले सम्हालिरहेको बताए ।
उनले आफ्नो क्षेत्रको विकास पनि गर्नुपर्ने जिम्मेवारी रहेको बताए । पर्सागढी नगरपालिकाभित्र विभिन्न पुलहरू अधूरा अवस्थामा छन्, त्यसलाई पूर्ण गराउन भौतिक योजना मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सडक कालोपत्रे गर्ने काम चाँडो शुरू गर्ने पनि आश्वासन दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, क्षेत्रीय सभापति महमद सहाबुद्दीन, पूर्वनगरप्रमुख लोकनारायण यादव, बहुदरमाई नगरपालिकाका पूर्वप्रमुख नितेन्द्र साह तेली, नेका नगर उपसभापति अच्छेलाल यादव, वडाध्यक्ष सुकमान तामाङलगायतको सहभागिता थियो ।
नेका नगर संयोजक विश्वमोहन दासको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दीपेन्द्र कँडेलले गरेका थिए ।