प्रस, जनकपुरधाम, २५ साउन/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई उनीसम्बद्ध पार्टी जनमत पार्टीले स्पष्टीकरण सोधेको छ ।

पार्टी केन्द्रीय अनुशासन विभागद्वारा सोधिएको स्पष्टीकरणमा मन्त्रिमण्डल गठन एवं विस्तारको कुरालाई मुख्यरूपमा सोधिएको छ । पार्टीसँग समन्वय नगरी मन्त्रालय बाँडफाँड गरेको साथै मन्त्रिपरिषद्को आकार किन ठूलो बनाएको भनी मुख्यमन्त्री सिंहसँग प्रश्न गरिएको छ ।

त्यसैगरी, जनताले देखिने र अनुभूति गर्नेगरी काम गर्नुभन्दा पनि उद्घाटनलगायतका औपचारिक कार्यक्रमहरूमा समय बढी खर्चिएको देखिएकोबारेमा पनि स्पष्टीकरण सोधिएको छ । पार्टीले दिएका निर्देशनहरू बेवास्ता गरेको, बजेट बनाउने क्रममा प्रदेशसभा सदस्यहरूलाई जनही रु पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई जनमत पार्टीको छविमा बारम्बार आँच पु¥याएको भन्ने पनि कुरा आएकोले सोही अनुसारको स्पष्टीकरण पार्टीले सोधेको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरत्सिंह यादवले सञ्चारकर्मीलाई शुक्रवार जानकारी दिएका छन् ।

“सङ्घमा समेत जतिसक्दो सानो मन्त्रिपरिषद्को प्रस्ताव गर्ने हाम्रो जनमत पार्टीले प्रदेशमा आफ्नो नेतृत्वमा जम्बो मन्त्रिपरिषद्को कल्पना गर्न सक्दैन,” प्रवक्ता डा यादवले भने । पार्टीले शुरूदेखि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने चाहना राखेको तर गठबन्धन सरकार बनेकोले पार्टीको चाहना अनुसार हुन नसकेको उनले बताए । मुख्यमन्त्रीलाई पनि यही समस्या होला नि ? सञ्चारकर्मीले राखेको प्रश्नमा यादवले जेसुकै समस्या भएपनि पार्टीसँग सल्लाह गरेर मात्रै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

मधेस प्रदेशमा मुख्यमन्त्री सिंहले पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार गरी २० सदस्यीय पु¥याएका छन् । यस अघि ठूलो मन्त्रिपरिषद् भनिएको १५ सदस्यीय थियो ।

जम्बो मन्त्रिपरिषद्मा जनमतबाट मुख्यमन्त्रीसहित पाँच, नेपाली काङ्ग्रेसबाट छ, नेकपा एमालेबाट सात र लोसपाबाट दुईजना मन्त्री छन् । मन्त्रिपरिषद् सदस्यको सङ्ख्या ठूलो भएपछि मुख्यमन्त्री सिंहको चौतर्फी आलोचना भइरहेको छ । जसपा निकट युवा विद्यार्थीहरू विरोध प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् ।

यस सम्बन्धमा जनमतका राष्ट्रिय अध्यक्ष डा सिके राउतको सचिवालय र प्रदेशको सत्तासाझेदार दल नेपाली काङ्ग्रेसका मधेस प्रदेश सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताबीच सामाजिक सञ्जालमा टीकाटिप्पणी चलेको छ । अध्यक्ष डा राउतको सचिवालयले “मधेस प्रदेशको सरकार गठबन्धनको हो, जनमत पार्टीको होइन” भन्दै सामाजिक सञ्जाल फेसबूकमा पोस्ट गरेको छ । प्रतिउत्तरमा नेकाका नेता नितेशकुमार गुप्ताले मन्त्रिमण्डल गठनबारे मापदण्ड रहेको उल्लेख गर्दै सत्ता टिकाउन जनमतले जम्बो मन्त्रिमण्डल गठन गरेको आरोप लगाएका छन् । उनले गठबन्धनका दुई ठूला दलप्रति दोषारोपण गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

यस सम्बन्धमा मुख्यमन्त्रीको सचिवालयले शुक्रवार साँझसम्म कुनै प्रतिक्रिया दिएको छैन । मन्त्रिपरिषद् विस्तार सम्बन्धमा बाहिर देखिएका असन्तुष्टिलाई मत्थर पार्नको लागि सहमतिमैं स्पष्टीकरण सोधेको देखावा गरेको प्रदर्शनकारी युवा नेताहरूको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here