प्रस, वीरगंज, २४ साउन/
मधेस सरकारमा दलीय भागबन्डा मिलाउन जम्बो मन्त्रिमण्डल गठन गरेसँगै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना शुरू भएको छ । मधेसमा आफू इमानदार पार्टी रहेको जनमत पार्टीबाट मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले दलीय भागबन्डामा जम्बो मन्त्रिमण्डल बनाएको र उनीहरूको एकमात्र काम विगतमा जसपा नेपाल नेतृत्वको सरकार सरह पैसा कमाउने, लुटने जस्ता शब्दहरू लेखी मधेसको जनताले आलोचना शुरू गरेपछि जनमत पार्टी चर्को दबाब परेको जनमत पार्टीकै नेताहरूले बताउन थालेका छन् ।

सो पार्टीका एक नेताका अनुसार सरकार चलाउनु र सरकारबाहिर बसेर विरोध गर्नुमा ठूलो अन्तर रहेको छ । विगतको सरकारभन्दा जनमतको सरकारले केही गर्ला भन्ने आसमा बसेको जनता पार्टीको यस रवैयाका कारण मधेस प्रदेश सरकारको भविष्य नै समाप्त हुने पनि जनमतका नेताहरूको भनाइ छ ।

१५ जना सहभागी मन्त्रिमण्डलमा मुख्यमन्त्री सिंहले गत मङ्गलवार थप पाँचजनालाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आलोचनासँगै मधेस प्रदेश सरकारमा आर्थिक भार थपिएको नेताहरूले प्रतिक्रिया दिन थालेका छन् । वीरगंजका एक नेताले मन्त्री मात्र थपेर होइन गठबन्धनले जनताको हितविपरीत कार्य गरेर उपेन्द्र यादवजस्तै सिके राउतलाई सिध्याउन लागिपरेको आशङ्का जाहेर गरे । उपेन्द्र यादलको खरो विरोधमा उत्रेका जनमत पार्टीका अध्यक्ष सिके राउतलाई मधेसमा नै असफल बनाउने योजनासहित गठबन्धन लागिपरेको कतिपय नेताहरूको बुझाइ छ । चार दल मधेस सरकारमा सहभागी छन् । मधेस प्रदेश मन्त्रिमण्डलमा एकजना मुख्यमन्त्री, ११ जना मन्त्री र आठजना राज्यमन्त्री छन् । उनीहरूको तलबबापत मात्र मासिक ११ लाख आठ हजार ४७ रुपैयाँ खर्च हुने गरेको छ । यसको अलावा उनीहरूले पाउने सेवासुविधाबापतका खर्च छुट्टै छन् । यस हिसाबले मुख्यमन्त्रीको तलबमा ६२ हजार ९७९, मन्त्रीहरूको तलबमा छ लाख ५७ हजार ५८९ र राज्यमन्त्रीहरूको तलबमा चार लाख ६७ हजार ९२९ गरी कुल ११ लाख आठ हजार ४७९ रुपैयाँ मासिक खर्च हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here