रामेश्वर मेहता, सिम्रौनगढ, २१ साउन/
नेपाल विद्युत् प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रविरुद्ध सोमवार तेस्रो दिन पनि पचरौता नगरपालिकाका बासिन्दाले धर्ना र प्रदर्शन जारी राखेका छन् ।

पछिल्लो समयमा प्राधिकरणले दिने सेवा नियमित नभएको र गर्मीमा अघोषित लोडसेडिङ भइरहेको विरुद्ध पचरौतावासीले शनिवारदेखि नेपाल विद्युत् प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रको गेटअगाडि धर्ना दिएका हुन् । विद्युत् नियमित नहुँदा किसानहरूले मोटर चलाएर खेतमा सिंचाइ गर्न नसकेको, पिउने पानीको समस्या भएको, विद्युत् नहुँदा अत्यधिक गर्मीले आम मानिसलाई समस्या भएको भन्दै पचरौतावासीले विद्युत् नियमित हुनुपर्ने मागसहित केन्द्रको गेटमा धर्ना दिएका हुन् ।

उनीहरूले विद्युत् नियमित नभएको र विद्युत् आउँदा पनि पर्याप्त भोल्टेज नभएको कारण कृषिमिटर सञ्चालन हुन नसकेको, घरेलु उपकरणहरू पनि कम भोल्टेजका कारण बिग्रिरहेको भन्दै उनीहरूले विद्युत् नियमित र भोल्टेज पर्याप्त मात्रामा प्रवाह गर्न माग गरेका छन् । धर्नाकारीहरूले कुलमान घिसिङ र प्रादेशिक प्राधिकरण प्रमुखविरुद्ध नाराबाजी गर्दै आएका छन् ।
सिम्रौनगढ वितरण केन्द्रको बतरा फिडर, पचरौता फिडर र सिम्रौनगढ फिडरमा नियमित विद्युत् आपूर्ति हुँदैन ।

यसै विषयलाई लिएर भोलि मङ्गलवार जिल्ला प्रशासन कार्यालय, कलैयामा आन्दोलनरत पक्षलाई वार्ताको लागि बोलाइएको छ ।

आन्दोलनकारीमध्ये पचरौता नगरपालिकाका प्रमुख जालन्धर सिंहले विद्युत् नियमित नहुन्जेल आन्दोलन जारी रहने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here