प्रस, सर्लाही, २१ साउन/
साउनको तेस्रो सोमवार आज सर्लाहीका शिवमन्दिरमा भक्तजनको भीड बढेको छ । पहिलो र दोस्रो सोमवारभन्दा तेस्रो सोमवार अक्लेश्वर महादेव मन्दिर डुमडुमेमा श्रद्धालु भक्तजनको बढी भीड रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
जिल्लाका अन्य शिवमन्दिरहरूमा पनि दर्शनार्थीको चहलपहल निकै बढेको थियो । लालबन्दीस्थित अक्लेश्वर महादेव मन्दिर डुमडुमे र जलकेश्वर महादेव मन्दिर पत्थरकोट, हरिवनस्थित सुखेपोखरी महादेव मन्दिर र कैलाशपुरी महादेव मन्दिर, ईश्वरपुरको सागरनाथ महादेव मन्दिर, बरहथवास्थित मुक्तेश्वर बाबाधाम, हरिपुरस्थित चिताइन मन्दिरमा आज उल्लेख्य भीड थियो ।
बोलबमयात्रीहरू सर्लाहीका विभिन्न शिवमन्दिर पुग्ने क्रम जारी छ । भारतीय बोलबम तीर्थयात्रीहरूसमेत आज सर्लाहीका मठमन्दिरहरूमा ठूलो सङ्ख्यामा पुगेका थिए । राजमार्ग र ग्रामीण सडकहरूमा बोलबम यात्रीहरूको लर्को लागेको थियो ।
नेपाली र भारतीय बोमबम यात्रीहरूले कर्मैयास्थित बाग्मती नदीमा संयुक्त जल भर्दा सो क्षेत्रको रौनकता बढेको थियो । २४सैं घण्टा व्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा रातभर नै बोलबम यात्रीको लर्को चलिरहेको छ ।
साउने व्रतको क्रममा जिल्लाका लालबन्दी, बयलवास, हरिवन, मलङ्गवा, बरहथवा, नवलपुरलगायतका बजारमा पूजन सामग्री र चुरा, पोते, मेहदीलगायत शृङ्गारका सामग्रीको कारोबार बढेको व्यापारीहरूले बताएका छन् ।
भक्तजनको चहलपहललाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षालाई दुरुस्त पारिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।