प्रस, जनकपुरधाम, २० साउन/
केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार आफ्नो अवधिसम्म टिक्ने नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले दाबी गरेका छन् ।
जनकपुरधामको श्रीराम युवा कमिटीको नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहमा नेता निधिले यो गठबन्धन लामो समयसम्म चल्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने
बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष नेतृत्व गरेपछि चुनावसम्मको अवधि गठबन्धन सरकारको नेतृत्व नेका सभापति शेरबहादुर देउवाले गर्ने बताए । गठबन्धनको सहमतिमा कुनै द्विविधा नपाल्न आग्रह गर्दै नेता निधिले दोस्रो ठूलो दल एमाले अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री स्वयंले संसद्मैं स्पष्ट अभिव्यक्ति दिएको बताए ।
आफू दुई वर्ष प्रधानमन्त्री र त्यसपछि नेका सभापति देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति ओलीले दिएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टि हुने निधिको तर्क थियो ।
मुलुकमा जबजब अप्ठ्यारो अवस्था आउँछ, तबतब काङ्ग्रेस र एमाले कार्यगत एकताका साथ अघि बढेको चर्चा गर्दै उनले गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना टाढासम्म नरहेको ठोकुवा गरे ।
नेता निधिले वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भन्दै राजनीतिक स्थायित्वले मात्रै देशमा विकासका मार्ग प्रशस्त हुने दाबी गरे ।
उनले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको मुद्दालाई प्राथमिकताका साथ समाधानको पक्षमा काम गर्ने पनि बताएका छन् ।