प्रस, पोखरिया, २० साउन/
नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा पाँच करोड आठ लाख राजस्व बढी सङ्कलन गरेको छ ।

पोखरिया वितरण केन्द्रले जनाए अनुसार २०७९/८० मा ३४ करोड २४ लाख २९ हजार ७३८ राजस्व सङ्कलन गरेको थियो भने आव २०८०/८१ मा ३९ करोड ३२ लाख ७४ हजार ३३४ राजस्व सङ्कलन गरेको वितरण केन्द्रका प्रमुख बुद्धिनाथ झाले बताए ।

पोखरिया वितरण केन्द्र अन्तर्गत वीरगंज महानगरबाहेक पर्सा जिल्लाका १३ वटा पालिका पर्छन् । आव २०७९/८० मा ४४ हजार ७७२ जना ग्राहक रहेको यो केन्द्रमा गत आवमा ग्राहक सङ्ख्या बढेर ५० हजार ६५६ पुगेको छ । प्रतिशतको हिसाबले ग्राहक सङ्ख्या १३.१४ ले वृद्धि भएको वितरण केन्द्रले जनाएको छ ।

यो केन्द्र अन्तर्गत हालसम्म ५५ करोड ६३ लाख ५६ हजार बक्यौता रहेको छ । गत आव २०८०/८१ मा एक हजार १३१ जनाको लाइन काटिएको र उनीहरूबाट पाँच करोड ९५ लाख छ हजार २८० रुपैयाँ सङ्कलन हुन बाँकी रहेको थियो । काटिएका लाइनमध्ये एक हजार १८ जनाको लाइन जडान गरी तीन करोड ३१ लाख ८६ हजार ७९१ रकम सङ्कलन भएको प्रमुख झाले बताए ।

गत आव २०८०/८१ मा २६० जनालाई विद्युत् चुहावटमा कारबाई गरिएको र सोबाट रु २७ लाख एक हजार ८८७ जरिवाना सङ्कलन भएको थियो । पोखरिया वितरण केन्द्र अन्तर्गत गत आवसम्म १८.४० प्रतिशत विद्युत् चुहावट भइरहेकामा हाल चुहावट नियन्त्रण भएर १८.१३ प्रतिशतमा झरेको केन्द्र प्रमुख झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here