ओमप्रकाश चौधरी, सेढवा, १९ साउन/
पर्साका ग्रामीण भेगमा सुरक्षा व्यवस्था कमजोर भएकाले किसानले सिंचाइ गर्ने वाटरपम्प चोरीका घटनामा वृद्धि भएको छ। जगरनाथपुर, पटेर्वासुगौली तथा जीराभवानी गाउँपालिकामा वाटरपम्प चोरीका घटनामा वृद्धि भएको किसानहरूले बताएका छन्।

जगरनाथपुर गापा–६ औराहाका किसान वीरेन्द्रप्रसाद कुर्मीका अनुसार उनको टोलमा मात्र पाँच/छ वटा वाटरपम्प चोरी भएका छन्। सो वडाका अन्य टोल गरी एक साताभित्र अढाई दर्जन वाटरपम्प चोरी भएको कुर्मीले बताए। पम्प जडान गरी सिंचाइ गरिरहेको अवस्थामा एकछिन खाना खाएर फर्किंदा पम्प चोरी हुने गरेको कुर्मीले बताए। यस क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर भएकाले यस्ता चोरीका घटना भइरहेको कुर्मीको आरोप
छ।

यसैगरी, औराहा, निचुटा, अकवा, प्रसौनी, मनिहर्वा, सुहपुर, सोहरी, सुगौलीलगायतका स्थानबाट वाटरपम्प चोरीका घटना बढी रहेका छन्।

पटेर्वासुगौली गापा–४ दाप सुगौलीका रामाशङ्कर चौधरीले गाउँबाट एकै राति तीनवटा वाटरपम्प चोरी भएको बताए। यसका साथै अन्य टोलमा पनि वाटरपम्प चोरी भएको घटना सुन्नमा आएको उनले बताए।

दमकल प्रयोग गरी किसानहरूले बालीमा भूमिगत सिंचाइ गर्दा निकै खर्च हुने गथ्र्यो। विगत दुई वर्षदेखि नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोल र तारको विस्तारसँगै किसानहरूले कृषि मिटर जडान गर्दै सिंचाइ सुविधा भोग गरिरहेका थिए। कृषि मिटर प्रयोगकर्ता किसानहरूलाई स्थानीय सरकारले ५० प्रतिशत र शतप्रतिशत अनुदानमा वाटरपम्प उपलब्ध गराउँदै आएको छ। पालिकाबाट अनुदानमा मोटर पाउन नसकेका किसानहरूले धान/गहुँ बिक्री गरेर आर्जन गरेको रकमबाट वाटपम्प खरीद गरेका छन्। अनुदान र आफ्नो खर्चमा खरीद गरिएका मोटर चोरी हुन थालेपछि किसानहरू दुःखी भएका छन्। उनीहरूले एकपछि अर्काे चोरीका घटना भइरहँदा पनि सुरक्षा व्यवस्थामा सुधार नभएको गुनासो गरे।

जीराभवानी गापा–३ का पूर्वअध्यक्ष उमेशकुमार सिंहले गत वर्ष पोखरीमा जडान गरेका तीनवटा मोटर चोरी भएको बताए। गत वर्ष जीराभवानी गापामा मात्र झन्डै तीन दर्जन मोटर चोरी भएको सिंहले बताए। बढ्दो चोरीका घटनाबाट आजित किसानहरूले अहिले भने बिहान मोटर जडान गरी सिंचाइ गर्ने र साँझ खोलेर घर लग्ने गरेकाले चोरीका घटनामा कमी आएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here