प्रस, सर्लाही, १९ साउन/
बाख्रालाई घाँस काट्न शुक्रवार जङ्गल गएका वृद्ध शनिवार मृत फेला परेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ७ निवासी ६० वर्षीय खिलराज खड्का जङ्गलमा मृत फेला परेका हुन्।
पारिवारिक स्रोतका अनुसार उनी घाँस काटन भनी साइकल चढेर लालबन्दी–८ स्थित लालबन्दी साझेदारी वनतर्फ गएका थिए। शुक्रवार बिहान करीब ९ः०० बजे जङ्गल पसेका वृद्ध साँझ अबेरसम्म घर नफर्किएपछि परिवारका सदस्यले इलाका प्रहरी कार्यालय, लालबन्दीमा जानकारी गराएका थिए।
प्रहरी र स्थानीय बासिन्दाले जङ्गल सर्च गर्ने क्रममा साझेदारी वनभित्र शनिवार बिहान खड्काको शव बरामद भएको थियो। साइकलमा घाँस बाँधिएको र साइकलनजीकै खड्काको शव लडेको अवस्थामा फेला परेको सर्लाहीका प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए।
घटनास्थलमा पुगेका प्रउ खड्काले मृतकको शरीरमा कुनै घाउ, चोट नदेखिएको जनाउँदै शव शल्यपरीक्षणपछि मृत्युको कारण खुल्न सक्ने बताए। शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ।