प्रस, जनकपुरधाम, १७ साउन/
धनुषाधाम नगरपालिका–२ मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरमा प्रदर्शन गरेका छन् ।
श्मशानघाटबाट ट्याक्टरमा शव राखेर जनकपुरको रामचोक, जानकीचोक, शिवचोक, भानुचोक हुँदै प्रदर्शनकारीले जनकपुरचोकमा शव राखेर गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध पनि नाराबाजी गरेका थिए ।
ठाकुरको शव मङ्गलवार प्रादेशिक अस्पतालले शल्यपरीक्षण गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै मिटरब्याज पीडित सङ्घर्ष समितिले शव जलाउन रोकेको हो ।
ठाकुरको सोमवार बिहान घरमा कुटपिट गरी हत्या भएको थियो भने उनकी पत्नी श्यामु ठाकुर गम्भीर घाइते छन् ।
हत्या आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
ठाकुरलाई ऋण दिने शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चाँदी मुखिया र मनीष मुखियालाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले मिटरब्याज पीडितलाई बिहीवार ११ बजे वार्तामा बोलाए पनि नआएको बताए । आफन्तले शव जलाउन खोजे पनि मिटरब्याज पीडितले शव नियन्त्रणमा लिएर प्रदर्शन गरिरहेको उनले बताए ।