प्रस, वीरगंज, १६ साउन/
वीरगंज महानगर–१० निवासी निरञ्जन अग्रवाललाई पर्सा प्रहरीले बुधवार पक्राउ गरेको छ । अग्रवालले नागरिकता र सवारी चालक अनुमतिपत्र तथा मतदाता परिचयपत्रमा फरकफरक जन्ममिति उल्लेख गरी किर्ते गरेको आरोपमा प्रहरीले अग्रवाललाई पक्राउ गरेको छ ।

अग्रवाल पिङ्की स्वीट्स सुपारीका सञ्चालक हुन् । अग्रवालविरुद्ध वीरगंज श्रीसिया निवासी नरेश ठाकुरले २०७६/१२/१४ गते पर्सा प्रहरीमा उजूरी गरे पनि हालसम्म उनी जोगिंदै आएको र आज पक्राउ परेको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए । नागरिकता र किर्ते मुद्दासम्बन्धी आरोपमा अग्रवाल पक्राउ परेका प्रउ ढुङ्गेलले बताए । अग्रवालको नागरिकता नं ३४१०२२/७९ र लिएको मिति २०६३/११/१८ देखिन्छ । उनले जन्मको आधारमा नागरिकता लिएका थिए । उनले २०५१ सालमा सवारी चालक अनुमतिपत्र लिएको देखिन्छ । अग्रवालले २०६३ सालमा नागरिकता लिएकाले २०५१ सालमा उनले कसरी लाइसेन्स प्राप्त गरे भन्ने ठाकुरले दिएको उजूरीमा उल्लेख छ ।

त्यसैगरी, मतदाता परिचयपत्रमा अग्रवालको जन्ममिति २०३१/३/१० उल्लेख छ तर नागरिकतामा उनको जन्ममिति २०३६/११/३ गते उल्लेख गरिएको छ । उनी भारतको राजस्थान निवासी जगदीश अग्रवालको छोरा हुन् । विगतका समयमा उनी पटकपटक विवादमा मुछिए पनि राजनीतिक संरक्षणमा जोगिंदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here