सिङ्गापुर, १६ साउन/एएफपी
संयुक्त राज्य अमेरिका र सिङ्गापुरले बुधवार परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्।

एशिया भ्रमणको क्रममा वाशिंगटनका शीर्ष कूटनीतिज्ञ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनको सिङ्गापुरका समकक्षी भिभियन बालाकृष्णनले गैरसैनिक परमाणु ऊर्जासँग सम्बन्धित ‘१२३ सम्झौता’ मा हस्ताक्षर गरेका छन्।
“यो सम्झौता संयुक्त राज्य अमेरिका र सिङ्गापुरबीच लामो समयदेखि रहेको सहकार्यमा आधारित छ। यसले आपसी प्रतिबद्धतामा आधारित शान्तिपूर्ण गैरसैनिक परमाणु ऊर्जा सहयोगका लागि गहिरो सम्बन्ध बनाउने विस्तृत ढाँचाको रूपरेखा बनाउँछ”–सम्झौतापछि दुवै देशका प्रतिनिधिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

क्षेत्रीय वित्तीय केन्द्र र विश्वव्यापी सेमिकन्डक्टर उद्योगको एक प्रमुख उत्पादक सिङ्गापुर हाल तेल र प्राकृतिक ग्याँसमा भने निर्भर छ। यसले सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न परमाणु ऊर्जासहितका विकल्पहरूको अध्ययन गरिरहेको छ।

अमेरिकी संसद्ले समीक्षा गरेपछि सन् २०२४ को अन्त्यसम्म यो सम्झौता लागू हुने अपेक्षा गरिएको छ।

“यो सम्झौता ३० वर्षसम्म चल्नेछ र सिङ्गापुरलाई अमेरिकी ऊर्जा प्रविधि र निर्यात नियन्त्रणमा रहेको विशेषज्ञताबारे विस्तृत जानकारीको पहुँचमा सहजीकरण गर्नेछ”–विज्ञप्तिमा भनिएको छ।

“यो सम्झौतापश्चात् सिङ्गापुर पनि अमेरिकी विदेश विभागको कार्यक्रममा सामेल हुनेछ जसले साझेदारहरूलाई थप उन्नत परमाणु ऊर्जा प्रविधिबारे बुझ्न सक्षम बनाउँछ।”

वाशिंगटनले चीन, इन्डोनेशिया, फिलिपिन्स र भियतनामलगायत २२ वटा देशका साथै युरोपेली आणविक ऊर्जा समुदाय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी गरी दुर्ई संस्थाहरूसँग सक्रिय ‘१२३ सम्झौता’ गरेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here