नितेश कर्ण, वीरगंज, १५ साउन/
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको उनकै घरमा काम गर्ने राम उजैन रायले हत्या गरेको प्रहरीले बताएको छ। यही साउन ७ गते मध्यरातमा चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरनजीकका रामचन्द्रका संधियार वीरेन्द्र रायको आर्थिक प्रलोभनमा परी राम उजैनले हत्या गरेको प्रहरीले बताएको छ। वीरेन्द्र र राम उजैनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

कविलासी नगरपालिका–३ घर भएका राम उजैन लामो समयदेखि रामचन्द्रको घरमा काम गरी बस्दै आएका थिए। संधियार वीरेन्द्रले रामचन्द्रको खेती आफ्नो जग्गामा रहेको भन्दै घरमा काम गर्ने राम उजैनलाई आर्थिक प्रलोभनमा पारेर घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

वीरेन्द्रले रामचन्द्रको हत्यापश्चात् जग्गा आफ्नो नियन्त्रणमा आउने भन्दै राम उजैनलाई हत्या गरेबापत दुई लाख नगद तथा व्यवसायका लागि एक फर्मसमेत बनाइदिने आश्वासन दिएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताएका छन्।

“रामचन्द्रको हत्या उनको फार्म हाउसनजीकका संधियार वीरेन्द्रको उक्साहट तथा आर्थिक प्रलोभनमा घरमा काम गर्ने राम उजैनले गरेको खुलेको छ,” प्रउ सिंहले भने, “राति सुतिरहेको अवस्थामा रामचन्द्रमाथि उखु काट्ने फर्सा प्रयोग गरी हत्या गरेको देखिएको छ। उनीहरू दुवैजनाले आफ्नो अपराध स्वीकार गरिसकेका छन्।”

रामचन्द्रसँग वीरेन्द्रको लामो समयदेखि जग्गासम्बन्धी मतभिन्नता रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। झन्डै एक महीना अघिदेखि वीरेन्द्रले राम उजैनलाई घरको नक्शा मगाइ भिडियो बनाएको प्रमाणसमेत फेला परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here